खेलाडीहरूको सुरक्षा मध्यनजर गरी आइसिसीले बंगलादेशमा हुने टी–२० महिला विश्वकप आयोजना नै परिवर्तन हुन सक्ने जनाएको छ
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले ३ देखि २० अक्टोबरसम्म हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता बंगलादेशबाट अन्य देशमा सर्न सक्ने जनाएको छ । बंगलादेशको पछिल्लो राजनीति अवस्थाका कारण विश्वकप आयोजना जोखिम हुन सक्ने जनाउँदै आइसिसीले प्रतियोगिताको स्थल नै परिवर्तन हुन सक्ने जनाएको हो ।
आइसिसीले तत्कालै प्रतियोगिता आयोजना गर्न सक्ने राष्ट्रका रूपमा भारत, श्रीलंका र युएईलाई राखेको छ । यी तीनवटा राष्ट्रमध्ये एकमा आइसिसी महिला टी–२० विश्वकप हुन सक्ने सूची आइसिसीले तयार गरेको छ ।
सोमबार प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर भारत प्रस्थान गरेकी थिइन् । सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकार गठनका लागि कार्यभार सम्हालेका छन् । बंगलादेशका पूर्वकप्तान मसरफे मुर्तजाको ढाकाबाट करिब १ सय ५० किलोमिटर टाढा नराइलमा रहेको निवास पनि प्रदर्शनकारीले आगो लगाएर नष्ट गरेका छन् । आइसिसीले बंगलादेशको अवस्थाको अनुगमन भइरहेको र सबै विकल्प खुला राखिएको बताएको छ ।
यस सम्बन्धमा आइसिसीले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)सँग छलफल गरेको छ । ‘हामीले बिसिबी, तिनका सुरक्षा निकाय र हाम्रा आफ्नै स्वतन्त्र सुरक्षा परामर्शदातासँग समन्वय गरेर घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ,’ आइसिसीले भनेको छ,‘ हाम्रो प्राथमिकता सबै सहभागीहरूको सुरक्षा र कल्याण हो ।’ आइसिसीका केही पदाधिकारीहरूले मनसुन मौसम चलिरहँदा भारत र श्रीलंकामा महिला विश्वकप आयोजना गर्न कठिन हुने दाबी गरेका छन् ।
‘भारत र श्रीलंका तत्कालै आइसिसीका ठूला प्रतियोतिगा आयोजना गर्न सक्ने भए पनि त्यहाँ मनसुन चलिरहँदा प्रतियोगितामा बाधा पुर्याउन सक्छ,’ आइसिसीका एक पदाधिकारीले भने, ‘श्रीलंकामा अक्टोबरमा वर्षाको खतरा छ भने भारतसँग पाकिस्तानी टोलीका लागि भिसाको विषय बाधक बन्न सक्छ ।’
बंगलादेशमा भ्रमण नगर्न निर्देशन
बंगलादेशको घटनाक्रमपछि अस्ट्रेलिया, इंग्ल्यान्ड र भारत सरकारले आफ्ना नागरिकलाई त्यहाँ भ्रमण नगर्न ट्राभल एडभाइजरी जारी गरेका छन् । यी तीनवटै राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई सुरक्षाका कारण तत्काल बंगलादेशमा भ्रमण नगर्न भनेका हुन् । ‘अहिले बंगलादेशको अवस्था गम्भिर छ, यस्तो वेलामा तपार्इंहरू त्यहाँ नजान आग्रह छ,’ अस्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेशको अवस्था सामान्य आउँदा मात्र भ्रमण गर्नुस्, यसअघि जारी भएको निर्देशन पालना गर्न अनुरोध छ ।’
बंगलादेशलाई टोली चाँडो पठाउन आग्रह
आगामी २१ अगस्टदेखि पाकिस्तानमा बंगलादेशले सिरिज खेल्दै छ । तर, बंगलादेशको पछिल्लो अवस्थाका कारण पाकिस्तान क्रिकेट बोर्डले बिसिबीलाई टोली निर्धारित समय अगाडि नै पठाउन आग्रह गरेको छ । निर्धारित तालिकाअनुसार बंगलादेशको टोली १७ अगस्टमा पाकिस्तान प्रस्थान गर्नेछ । पिसिबीले बिसिबीलाई बंगलादेशको टेस्ट टोलीलाई पहिले नै पाकिस्तान पठाउन सुझाव दिएको हो । एक साताअगाडि आउँदा बंगलादेशले प्रशिक्षण गर्न समय पाउने पिसिबीको भनाइ छ ।