बागलुङमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, तीनजना बेपत्ता

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

सोमबार बेलुकादेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा एकजनाको मृत्यु भएको छ। जिल्लाको बडिगाड गाउँपालिका– ९ दर्लिङखोला भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानीय श्यामलाल परियारका १५ वर्षीय छोरा विधान परियारको मृत्यु भएको छ।

पहिरोका कारण स्थानीयहरूका केही घर पुरिनुका साथै जोखिममा रहेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । नयाँबस्ती सारिएको क्षेत्रमा पहिरो गएका कारण अन्य के–कति क्षति भएको छ सोको विवरण आइनसकेको गाउँपालिका अध्यक्ष अधिकारीले बताइन्।

पहिरोका कारण बडिगाड गाउँपालिकाकै वडा नम्बर १० दर्लिङमा एक घरगोठ बगाउँदा तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । स्थानीय चक्रबहादुर बुढाको घरगोठ बगाउँदा बुढासहित श्रीमती र एक छोरी बेपत्ता भएका छन्।

यादवका अनुसार घटनास्थलमा प्रहरीको टोली पुग्दै गरेको र घटनाको यकिन विवरण अझै पत्ता लागिसकेको छैन ।  घटनाबारे थप विवरण बुझ्न उपाध्यक्ष भीमसेन वनको नेतृत्वमा प्रहरी, कर्मचारी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ जाँदै छ । कठिन भूगोलका कारण घटनास्थल पुग्नका लागि कठिनाइ भएको छ । घटनास्थल वरपरका फोनसमेत सम्पर्क हुन नसकेको हुँदा घटनाको यकिन विवरण आउन  सकेको छैन। 

See More On

सुझावित समाचार