तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुंगाकै भर

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

होलिया र गंगापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुंगा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुंगाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका– ६ गंगापुरका स्थानीय सोहनलाल यादवले बताए ।

उनका अनुसार राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुंगा चढेर नदीपारि जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुंगा सधैँ तयारी अवस्थामा रहन्छ ।
‘नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुंगे पुल छैन, त्यसैले डुंगा चढ्नुको विकल्प छैन,’ राप्ती सोनारी– ७ खल्ला झगडिया नयाँबस्तीका स्थानीय शंकर यादवले भने, ‘हिउँद–वर्षात् जहिले पनि डुंगाबाट राप्ती नदी वारपार गर्ने गरेका छौँ ।’

डुंगामा नदी तारेको प्रतिव्यक्ति  १० रुपैयाँ तिर्नुपर्दछ । गाईभैँसीलाई बोकेबापत  २०, साइकलको  १५ र मोटरसाइकलको  ६०  रुपैयाँ लिने गरेको डुंगाचालक नानबाबु पासीले बताए । डुंगामा एकैपटक ५० देखि ६० जना मान्छे र मालसामान नदी वारपार गराउने गरेको पासी बताउँछन्। 

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका सयौँ नागरिक किनमेलका लागि पुग्ने गर्छन् । हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिका होलिया, बेतहनी र राप्तीपारि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गंगापुर र मटेहियाका दर्जनौँ नागरिक डुंगा तरेर जाने गर्दछन् ।

भारतीय हाटबजारमा तरकारीलगायत उपभोग्यवस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेकाे डुंगाचालक पासीले बताए । डुडुवा गाउँपालिका– १ होलियाका कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटइपूर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपूर्वा सन्तलिया नयाँबस्तीका सयौँ बासिन्दाको डुंगा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको स्थानीय झगरु लोनियाले बताए । 

राप्ती तटीय क्षेत्रका नागरिक राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुंगामा सवार हुनुपर्ने समस्या अन्त्यका लागि मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको सांसद सूर्य ढकालले जानकारी दिए । 

सुझावित समाचार