भूकम्पपीडितलाई मात्र अस्थायी आवासका लागि अनुदान उपलब्ध गराइँदै आएकामा अब बाढीपहिरो, आगलागी, चट्याङपीडितले पनि पाउने
बाढीपहिरो, आगलागी, चट्याङबाट घर गुमाएका पीडितले पनि अब अस्थायी आवासका लागि अनुदान पाउने भएका छन् । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सोमबारको २४औँ बैठकले ‘विपत्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ स्वीकृत गरेसँगै अस्थायी आवासका लागि अनुदान उपलब्ध गराउने बाटो खुलेको हो ।
विपत् प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार यसअघि भूकम्पपीडितलाई अस्थायी आवासका लागि दुई किस्तामा ५० हजार रुपैयाँ उपलब्ध गराए पनि मनसुनजन्य विपत्का हकमा प्रावधान थिएन । ‘भूकम्प र मनसुनी विपत्पछिको पुनर्निर्माणलाई एउटै ठाउँमा समेटिएको हो,’ उनले भने । यसअघि भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० स्वीकृत गरेर जाजरकोट, डोटी र बझाङ भूकम्पपीडितलाई अनुदान निकासा गरिएको थियो । तर, बाढीपहिरो, चट्याङ, आगलागीलगायत विपत् समेटिएको थिएन ।
अस्थायी आवासका लागि विपत् प्राधिकरणले जिल्लास्थिति विपत् व्यवस्थापन समितिमा रकम निकासा गर्नेछ । पालिकाले अस्थायी आवासका लागि लाभग्राहीसँग सम्झौता गरेपछि जिल्लास्थित विपत् व्यवस्थापन समितिले अनुदानको पहिलो किस्ताबापत प्रतिपरिवार २५ हजार रुपैयाँका दरले निकासा गर्छ । स्थानीय विपत् समितिमा निकासा भएको अनुदान लाभग्राहीको खातामा जम्मा हुन्छ । दोस्रो किस्ताबापतको थप २५ हजार रुपैयाँ भने घरको छानो हाल्ने तहसम्म पुगेपछि वा निर्माण सकिएपछि मात्र पाइनेछ ।
कार्यकारी समितिको बैठकले भत्किएका र बाढीले क्षति पुर्याएका तटबन्ध तत्काल मर्मत–सम्भारका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत अगाडि बढाउने निर्णय पनि गरेको छ । बजेटको सुनिश्चितता अर्थ मन्त्रालयले गर्नेछ । साथै, डेंगुु, झाडापखाला र हैजाजस्ता मनसुनसँगै महामारीजन्य रोगको प्रकोप बढ्न सक्ने सम्भावनालाई ख्याल गर्दै ती रोग फैलिन नदिन स्वास्थ्य र खानेपानी मन्त्रालयमार्फत तत्कालै आवश्यक कार्य अगाडि बढाउन पनि निर्देशन दिएको छ ।
गृहमन्त्री रमेश लेखकले विपत्मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट एकद्वार प्रणालीबाट सहायता लिने गरी कार्यविधि बनाउन निर्देशन दिएका छन् । विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री लेखकले ‘विपत् संवेदनशील सामाजिक सुरक्षा कार्यविधि २०८१’ बनाउँदा विदेशी संस्थाबाट लिने सहायता र राष्ट्रिय सुरक्षाको विषयमा गम्भीर बन्न निर्देशन दिए । ‘विपत् सहायता लिने कुरामा विदेशी संस्थाको वान डोर इन्ट्री होस् । उहाँहरूबाट चाँडोभन्दा चाँडो सहयोग लिन सकियोस् । कुनै पनि विदेशी संस्थाले हामीकहाँ काम गर्छ भने त्यो संघको जानकारीमा हुनुपर्यो,’ उनले भने, ‘वान डोरबाट जानुपर्यो भन्ने मलाई लाग्छ । कार्यविधि बनाउँदा यतातिर गम्भीरतापूर्वक हेर्नु होला । साथै, यसमा राष्ट्रिय सुरक्षाको विषय पनि अत्यन्त संवेदनशील ढंगले जोडिने गर्छ । त्यसलाई पनि ध्यान दिनुपर्ला ।’
मनसुन फेरि सक्रिय, आज र भोलि देशभर वर्षा हुने
मनसुनी प्रणाली फेरि सक्रिय बन्दा मंगलबार र बुधबार देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझबाट पूर्वमा उत्तरतिर सर्न थालेको मनसुन न्यून चापीय रेखा मंगलबार र बुधबार नेपाल नजिक रहने भएकाले देशभर वर्षा हुने भएको हो । ‘मनसुन सोमबार रातिबाट सक्रिय भएको छ, मंगलबार र बुधबार देशका धेरै ठाउँमा वर्षा हुने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले भने । महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा कर्णाली र मधेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको आकलन गरेको छ । त्यस्तै, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी दिइएको छ ।
कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’ भएको मौसम विभागको निष्कर्ष
एक महिनाअघि कञ्चनपुरमा भएको अत्यधिक वर्षा ‘क्लाउड ब्रस्ट’ (आरीघोप्टे) रहेको जल तथा मौसम विज्ञान विभागले निष्कर्ष निकालेको छ । दोधारा–चाँदनी नगरपालिकामा रहेको वर्षा मापन केन्द्रमा २३ असारमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएपछि विभागले स्थलगत अध्ययन गर्दा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमी वायु विकास भएको न्यूनचापीय प्रणालीको समिश्रणबाट अत्यधिक वर्षा भएको निष्कर्ष निकालिएको हो ।
विभागका अनुसार हनुमाननगर केन्द्रमा एक घन्टामै १०२ मिलिमिटर वर्षा भएको छ । विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल नेतृत्वको अध्ययन टोलीले प्रतिवेदनमा भनेको छ, ‘यी प्रणालीको समिश्रणको प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउड ब्रस्ट’ मान्न सकिन्छ ।’ २३ असारमा दोधारामा ६२४ मिमि, हनुमाननगरमा ५७३.६ मिमि र सुन्दरपुरमा ५५६ मिमि वर्षा रेकर्ड भएको थियो ।
२४ घन्टामा ६२४ मिमि वर्षा रेकर्ड भएपछि कतिपयले प्राविधिक त्रुटिको आशंका गरेका थिए । तर, दोधारा र हनुमाननगरमा क्षेत्रमा जडित स्वचालित वर्षा मापन उपकरण विभागको मापदण्डभित्रै रहेको पाइएकाले तथ्यांक सही ठहर गरिएको छ । तर, सुन्दरपुरमा जडित उपकरणबाट प्राप्त तथ्यांक भने मापदण्डभन्दा फरक परेकाले थप अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । सुन्दरपुरको स्वचालित वर्षा मापन उपकरणको औसत त्रुटि माइनस १२.४ प्रतिशत छ । यसबाट वास्तविक वर्षाभन्दा कम वर्षा भएको पाइएकाले सो स्वचालित रेनगज (वर्षा मापक उपकरण) प्रयोगशालामा ल्याई थप चेकजाँच गर्न अध्ययन टोलीले सुझाव दिएको छ । कञ्चनपुरमा रेकर्ड भएको यो वर्षा ७७ वर्षयताकै धेरै हो ।