काभा महिला भलिबल नेसन्स लिग : नेपाल आज सेमिफाइनलमा इरानसँग भिड्दै

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

इरानसँग लिग चरणमा ३–२ ले पराजित नेपाललाई मंगलबार दोस्रो सेमिफाइनलमा बदला लिने अवसर

नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको सेमिफाइनलमा मंगलबार बलियो इरानको सामना गर्दै छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार माल्दिभ्समाथि ३–० को सीधा सेटमा हराउँदै नेपालले फाइनल प्रवेशको खेलमा मुस्लिम राष्ट्र इरानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो । लिगमा नेपाल दोस्रो र इरान तेस्रो भएका छन् । काभाको नियमअनुसार दोस्रो तथा तेस्रो टोलीबीच सेमिफाइनलमा एक–आपसमा भिड्नुपर्नेछ । शीर्ष स्थानको भारतले पहिलो सेमिफाइनलमा श्रीलंकाको सामना गर्नेछ । 

लिग चरणअन्तर्गत आइतबार भएको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । नेपालले एक मात्र हार सामना गरेको इरानसँगै थियो । लगातार चार खेलमा हार निकालेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ । 

सहभागीमध्ये कमजोर प्रतिद्वन्द्वी माल्दिभ्समाथि नेपालले दोस्रो रोजाइका खेलाडी उतारेको थियो । भारत र इरानविरुद्ध २४ घन्टाको अन्तरमा प्रतिस्पर्धा गर्दा घरेलु नेपाली महिला खेलाडी थाकेका थिए । इरानविरुद्धको प्रतिस्पर्धामा पाँच सेटसम्म जाँदा खेलाडीले कमब्याक गर्न सकेनन् । 

एक खेल अगाडि नै अन्तिम चारमा पुगेको नेपालले दोस्रो रोजाइको खेलाडीको भरमै माल्दिभ्सलाई २५–८, २५–१९ र २५–१८ ले हरायो । सिनियर खेलाडीले आराम पाउँदा दोस्रो रोजाइले अन्तर्राष्ट्रिय खेलको अनुभव लिन अवसर पाएका छन् । एक दिन रेस्ट पाएका घरेलु खेलाडीले सेमिफाइनलमा इरानविरुद्ध लयमा प्रतिस्पर्धा गर्ने अपेक्षा छ 

पाँच टोली सहभागी प्रतियोगितामा भारतले चार खेलबाट सर्वाधिक १० अंक जोड्दै शीर्ष स्थानमाथि कब्जा जमायो । नेपाल चार खेलमा एक हार र तीन जित निकाली नौ अंक जोड्यो । लिग चरणमा नेपाल दोस्रो भयो । तेस्रो स्थानमा रहेको इरानले सात अंक बटुल्यो । लिगमा चौथो स्थान रक्षा गरेको श्रीलंकाले चार अंक जोडेको छ । नेपालका प्रशिक्षक जगदिश भट्टले इरानविरुद्ध अघिल्लो खेलमा भएको गल्ती सुधार गर्दै खेल्ने बताएका छन् । 

‘भारतसँगको खेलका कारण इरानविरुद्धको खेलमा खेलाडी धेरै थाके । खेलाडीले लिग चरणमा धेरै गल्ती गरे,’ प्रशिक्षक भट्टले भने, ‘अब सेमिफाइनलमा ती गल्ती दोहोरिँदैन ।’ लिग चरणमा पौँचौ“ सेटमा पराजित भएको नेपालले सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउने उनको भनाइ छ । ‘हामी इरानलाई सोझो सेटमै पराजित गर्ने योजनाका साथ खेल्छौँ,’ उनले भने, ‘यसमा सबैले उत्कृष्ट खेल्नुपर्छ ।’ कप्तान अरुणा शाहीले पनि मंगलबार हुने खेलमा गल्ती नगर्ने बताइन् । 

बेन्चमा रहेका खेलाडीलाई अवसर
नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ । तुलनात्मक रूपमा कमजोर माल्दिभ्सविरुद्ध प्रशिक्षक भट्टले सुरुमा बलियो टोली उतारेका थिए । यसै खेलबाट बेन्चमा रहेका मिडब्लकर संगम महतो र लिबेरो शान्ति तामाङले अवसर पाएका छन् । बेन्चमा अधिकांश रहेका पुनम चन्द, कामना विष्ट, साफिया पुन, आरती सुवेदीले अवसर पाएका हुन् । 

माल्दिभ्सविरुद्ध फराकिलो अग्रता बनाएपछि प्रशिक्षक भट्टले सिनियर खेलाडी पहिलो सेटमै परिवर्तन गरे । उनले दोस्रो रोजाइका खेलाडीलाई पहिलो सेटबाटै अवसर दिँदा नेपाल २५–८ ले विजयी भयो । दोस्रो सेटमा पनि भट्टले नयाँ खेलाडीलाई अवसर दिए । उषा भण्डारीले मात्रै नियमित खेलाडीका रूपमा कोर्टमा थिइन् । दोस्रो सेटमा माल्दिभ्सले दबाब बढाएपछि ओपन हिटर निरुता ठगुन्ना र लिबेरो सलिना श्रेष्ठलाई कोर्टमा पठाइएको थियो । दोस्रो सेट १८–१८ को स्थितिमा रहँदा सिनियर खेलाडीले खेल नियन्त्रण गर्न कोर्टमा गएका हुन् ।

इरानलाई सोझो सेटमै हराउँछौँ : जगदिश भट्ट, प्रशिक्षक, नेपाल
भारत र इरानसँग पाँच सेट खेल्न परेको थियो । इरानसँग पाँचौँ सेट पनि राम्रो गरेका थियौँ । भारतसँग ब्लक राम्रो भयो । इरानसँग त्यही कमजोर भयो । अब, हामी तीन सेटमै जित्ने गरी खेल्छौँ । माल्दिभ्ससँग नयाँ खेलाडीलाई अवसर दिएका थियौँ । उनीहरूले सोचेजस्तो खेले । उनीहरूलाई आत्मविश्वास चाहिएको थियो । दोस्रो रोजाइका खेलाडीलाई त्यसैले अवसर थियौंँ । 

हाम्रो लक्ष्य स्वर्ण हो : अरुणा शाही, कप्तान, नेपाल
अहिलेसम्मको यो माल्दिभ्सविरुद्धको सहज जित हो । हाम्रा लागि सेमिफाइनल निकै महत्वपूर्ण हुनेछ । इरानविरुद्ध अघिल्लो खेलमा रिसिभ र डिफेन्समा राम्रो भएन । फाइनल प्रवेशको खेलमा त्यो गल्ती दोहोर्याउन हुँदैन । सामान्य गल्तीले पनि नेपालको उपाधि जित्ने सपना तुहिन सक्छ । यसकारण हामी सेमिफाइनलमा गल्ती नगरी खेल्छौँ । अन्तिम चारमा पुगेका चारै टोली बलिया छन् । हाम्रो लक्ष्य स्वर्ण पदक हो । 

See More On

सुझावित समाचार