नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनको बर्खास्तीको भर्त्सना गरेका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सापकोटाले सरकारले नियम उल्लंघन गरेर उनीहरूलाई बर्खास्त गरेको बताए।
डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल बक्यौता उठाउन यसअघिका संसदीय समितिले निर्देशन दिइसकेकोमा त्यसलाई कार्यान्वयन गराउनुको साटो उल्ट्याउन लागिपरेकोमा उनले आपत्ति जनाए।
‘संसदीय समितिहरू भनेको सरकारका स्वार्थ बाझिएका निर्णयउपर निगरानी गर्ने, संसदीय रूपमा खबरदारी गर्ने र आवश्यक पर्दा निर्देशन दिने स्पष्ट कार्यक्षेत्र छ । तर, बडो विडम्बनाको कुरा सार्वजनिक लेखा समितिका सभापतिले यस्तो स्पष्ट निर्णय हुँदाहुँदै सबै निर्णयलाई लत्याएर अनावश्यक रूपमा यी निर्णय उल्ट्याउने उद्देश्यका साथ जे छलफल गरिराख्नुभएको छ, यो अनैतिक र घोर आपत्तिजनक छ,’ सांसद सापकोटाले भने ।