पेरिस ओलम्पिक २०२४ : ६० वर्ष पुरानो रेकर्ड बराबरी गरिन् लेडेकीले

सन् १९६४ मा सोभियन युनियनकी लारिसा लाटिनिनाले महिलातर्फ व्यक्तिगत सर्वाधिक नौ स्वर्णपदक जितेको रेकर्ड अमेरिकी पौडीबाज काइटी लेडेकीले बराबरी गरिन्

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

अमेरिकी पौडीबाज काइटी लेडेकीले पेरिस ओलम्पिक २०२४ अन्तर्गत आठ सय मिटर फ्रिस्टायलमा स्वर्ण जित्दै महिला ओलम्पियनको सर्वाधिक स्वर्ण पदकको कीर्तिमान बराबर गरेकी छिन् । लेडेकीले ६० वर्षअघिको कीर्तिमान बराबरी गरेकी हुन् । यसअघि सोभियत युनियनकी जिम्न्यास्टिक खेलाडी लारिसा लाटिनिनाले ओलम्पिकमा नौ स्वर्ण जित्दै इतिहास बनाएकी थिइन् । उनले सन् १९६४ को टोकियो ओलम्पिकमा दुई स्वर्ण हात पारी महिलातर्फ व्यक्तिगत रूपमा सर्वाधिक नौ स्वर्ण जित्ने विश्व कीर्तिमान राखेकी थिइन् । 

उनले १९५६ को ओलम्पिकमा चार र सन् १९६० मा तीन स्वर्ण हात पारेकी थिइन् । अमेरिकी पौडीबाज लेडेकी लगातार चार ओलम्पिकमा स्वर्ण जित्ने एक्ली महिला बनेकी छिन् । यो सफलता प्राप्त गर्ने उनी अमेरिकाकै माइकल फ्लेप्सपछि दोस्रो पौडीकी खेलाडी बनिन् । उनको चार ओलम्पिक यात्रामा कुल १४ पदक जितेकी छिन् । फ्लेप्सले कीर्तिमानी रूपमा २३ स्वर्णसहित २८ पदक हात पारेका थिए । लेडेकीले सन् २०१२ को लन्डन ओलम्पिकमा आठ सय मिटर र २०१६ को रियो ओलम्पिकमा चार स्वर्णसँगै एक रजत हात पारेकी थिइन् । सन् २०२० को टोकियो ओलम्पिमा उनले समान दुई स्वर्ण र रजत हात पारिन् । पेरिसमा चलिरहेको ओलम्पिकमा उनले आठ सय र १५ मिटर फ्रिस्टायलमा स्वर्णसँगै समान एक रजत र कास्य हात पारेकी छिन् । 

ओलम्पिक इतिहासमा महिलातर्फ व्यक्तिगत नौ स्वर्णको रेकर्ड बराबरी गरेपछि लेडेकीले पेरिसमा आशा गरेजस्तै नतिजा आएको बताएकी छिन् । ‘पेरिसमा सोचेजस्तै नतिजा पाइरहेकी छु, लगातार ओलम्पिकमा स्वर्ण हात पार्नु महŒवपूर्ण पक्षका रूपमा लिएकी छु,’ उनले भनिन्, ‘अनुशासित रूपमा खेलाडीले अभ्यास गर्नुपर्छ, आज यसैको नतिजा हो ।’ 

सेन्ट लुसियाले जित्यो पहिलो स्वर्ण
सेन्ट लुसियाले ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ । सेन्ट लुसियालाई इतिहासमै पहिलो स्वर्ण महिला खेलाडीले दिलाएकी हुन् । जुलियन अल्फ्रेडले महिला सय मिटर दौडमा पहिलो स्थान हात पारेकी हुन् । २३ वर्षीय अल्फ्रेडले स्वर्ण जित्न १०.७२ सेकेन्ड समय लगाइन् । उनले राष्ट्रिय कीर्तिमान पनि राखिन् । अमेरिकी विश्व च्याम्पियन साकारी रिचर्डसन १०.८७ सेकेन्डका साथ दोस्रो स्थानमा रहिन् । आयोजक फ्रान्सकी मेलिसा जेफर्सन १०.९२ सेकेन्डका साथ तेस्रो भएकी छिन् । 

दुई लाखभन्दा कम जनसंख्या भएको वेस्ट इन्डिजको सानो टापु सेन्ट लुसियाले अघिल्लो सातसम्म ओलम्पिकमा पदकविहीन थियो । सेन्ट लुसिया क्षेत्रफलको आकारमा १८औँ र जनसंख्याका आधारमा २०औँ सानो देश हो । सय मिटर दौड स्पर्धा चलिरहँदा रंगशालामा मुसलधारे वर्षा भएको थियो । तर, अल्फ्रेडले स्वर्ण जित्न कुनै बाधाको सामना गर्नुपरेन । 

इतिहास रचेपछि उनले जर्सी समर्थकलाई दिइन् । ‘म भगवान् र बुबाबारे सधैँ विचार गर्छु,’ उनले भनिन् । सन् २०१३ मा अल्फ्रेडका बुबाको निधन भएको थियो । सेन्ट लुसियालाई पहिलो स्वर्ण दिलाएपछि उनले बुबाप्रति समर्पित गरेकी छिन् ।

सुझावित समाचार