प्रदेशलाई विकासे अड्डाको रूपमा हेरियो, हामी सरकारका रूपमा स्थापित गर्छौँ : मन्त्री काफ्ले

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारलाई विकासे अड्डाका रूपमा मात्रै हेर्न खोजिएको बताएका छन्।

संविधानले व्याख्या गरेको प्रदेश सरकारलाई संघीयतामा सरकारकै भूमिकामा अघि बढाउनुपर्नेमा विकासे अड्डाका रूपमा अर्थ्याउन खोजेको बताउँदै मन्त्री काफ्लेले आफूहरूकै पालामा प्रदेश सरकार सरकारकै रूपमा स्थापित गर्दै सहज सेवा प्रवाहमा तल्लीन हुने बताए।

नेपाली कांग्रेस दोलखाले आइतबार चरिकोटमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेश सरकारसँग प्रभावकारी संरचना नभएका कारण पनि आमजनमानसमा प्रदेश सरकारप्रति वितृष्णा छाएको भन्दै उक्त वितृष्णा चिरेर प्रदेश सरकारलाई नागरिकमाझ लोकप्रिय बनाउन वर्तमान सरकार दृढतापूर्वक लाग्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले झन्डै ३० वर्षपछि दोलखा कांग्रेसले मन्त्री प्राप्त गरेको सुनाउँदै जनताको मन जित्ने गरी कार्यसम्पादन गर्न मन्त्री काफ्लेलाई आग्रह गरेका थिए।

०५१ सालमा कांग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङ कानुनमन्त्री भएपछि दोलखाबाट प्रतिनिधित्व गर्ने दोस्रो मन्त्री हुन् काफ्ले ।

सुझावित समाचार