ढाका साफमा फुटबलले जोगाएको नेपालको इज्जत

शनिबार, १९ साउन, २०८१
डिजिटल संस्करण
ढाका साफमा फुटबलले जोगाएको नेपालको इज्जत

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वर्ण जितेपछि नेपाली टोली

सन् १९९३ मा ढाकामा भएको छैटौँ दक्षिण एसियाली खेलकुद (साफ)मा नेपालले ११ खेलमा भाग लिएको थियो । समापनको अघिल्लो दिनसम्म नेपाल स्वर्णविहीन थियो । नेपालले अन्तिम दिन एक मात्र स्वर्ण पुरुष फुटबलबाट हात पार्यो । बंगबन्धु राष्ट्रिय रंगशालामा भारतलाई सडनडेथमा पराजित गर्दै नेपालले स्वर्ण जित्दा कप्तान थिए, राजुकाजी शाक्य । साफ इतिहासमा खेलाडी, कप्तान र प्रशिक्षकका रूपमा स्वर्ण जित्ने उनी एक्ला फुटबलर हुन् । सन् १९८४ मा काठमाडौंमै भएको पहिलो साफ र सन् २०१६ को १२औँँ सागमा राष्ट्रलाई स्वर्ण दिलाउँदा शाक्यले क्रमशः खेलाडी र प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । तीमध्ये शाक्यले छैटौँ साफमा नेपालले हात पारेको स्वर्ण पदक जित्दाको स्मरण नयाँ पत्रिकाका रमेश सुवेदीलाई सुनाए :

छैटौँ दक्षिण एसियाली खेलकुद (साफ)मा नेपालको फुटबल टोली बलियो थियो । गोलरक्षकदेखि फिनिसिङसम्म खेल्ने सबै खेलाडी एकसेएक थिए । यद्यपि, साफ खेलका लागि हामीले राम्रोसँग अभ्यास गर्न पाएनौँ । तर, टिम सेट हुँदा नेपाल धेरै स्वर्णको दाबेदार थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हामीबाट स्वर्ण पदकको आशा गरेको थियो । एन्फाले फुटबल टोलीलाई ढाकाको राम्रो होटेलमा राख्यो । मलाई लाग्छ, हामी बसेको होटेल ढाकाकै राम्रो पाँचतारे थियो । 

साफमा सहभागी अन्य टोलीका खेलाडीले यस्तो सुविधा पाएकोजस्तो लाग्दैन । एन्फाका पदाधिकारीको मानसिकता नै नेपालले फुटबलमा स्वर्णबाहेक अन्य पदक लिएर फर्कंदैन भन्ने थियो । उनीहरू हामीमाथि ढुक्क थिए । प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश माल्दिभ्ससँग रोकियो । माल्दिभ्सले पनि हामीलाई गोलरहित बराबरीमा रोक्यो । त्यसवेला नेपाली फुटबल टोली समूह ‘ए’मा थियो । आयोजकले समूहको शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान राखेको थियो । हाम्रो समूहमा नेपाल र बंगलादेशमध्ये एक टोली अन्तिम दुईमा पुग्ने निश्चित थियो ।

बंगलादेश पराजित हुँदा रंगशालामा ढुंगामुढा
एक किसिमले त्यो खेल सेमिफाइनलजस्तो थियो । यी दुवै टोलीका खेलाडीले एक–आपसमा प्रतिस्पर्धा गर्दा गर् या मर्को स्थितिमा देखिए । फाइनल पुग्न दुवैलाई जित्नैपर्ने दबाब थियो । यो एक किसिमले सेमिफाइनलजस्तै थियो । जित्ने टोली फाइनलमा पुग्ने थियो । रंगशाला घरेलु समर्थकले भरिएको थियो । नेपाललाई समर्थन गर्न त्यति धेरै दर्शक थिएनन् । त्यहाँ रहेका मेडिकल पढेका विद्यार्थीले हाम्रो सपोर्ट गर्न आएका थिए । प्रतिस्पर्धामा वसन्त गुरुङको गोलमा नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता लियो । त्यही एक मात्र गोलमा हामी फाइनल पुग्यौँ । बंगलादेशले स्वर्ण जित्न धेरै लगानी र मिहिनेत गरेको थियो, त्यसको अनुपातमा हाम्रो केही पनि थिएन । तैपनि, नेपालसँग पराजित भएका बंगलादेशका खेलाडी निराश बने । 

हारपछि बंगलादेशका खेलाडीलाई मैदानमै पिट्न घरेलु समर्थक नै आएका थिए । उनीहरूले बंगलादेशी खेलाडीको नाराबाजी गरे । रंगशालाभित्र नै बंगलादेशी समर्थकले ढुंगामुढा सुरु गरेका थिए । रिसले चुर घरेलु समर्थकले फाइनल पुगेका हामीलाई बाहिर निस्कन दिएनन् । नेपाली खेलाडीलाई सुरक्षाकर्मीले बाहिर निकालेको थियो । खेल सकिएको एक घण्टापछि हामीलाई बल्ल आयोजकले होटेल पुर्याएको थियो ।

राति एक बजे बैठक
अर्को पोलबाट स्वर्ण दाबेदार भारत फाइनलमा पुगेको थियो । फाइनल हुनु एक दिनअगाडि प्रतियोगितामा नेपालबाट सहभागी अन्य खेलले एउटा पनि स्वर्ण जित्न सकेनन् । अर्थात्, अब छैटौँ साफ खेलमा नेपाल स्वर्णविहीन हुनबाट जोगिन फुटबलमाथि आशा भयो । फुटबलले पनि स्वर्ण नजित्दा नेपाल पहिलोपटक कांस्य र रजतका साथ घर फर्कनुपर्ने अवस्था आएको थियो । खेलाडीका रूपमा हामीले त्यसलाई त्यति धेरै दबाबका रूपमा लिएनौँ । जसरी पनि स्वर्ण जित्नुपर्छ भनी दबाब लिँदा खेल बिग्रिन्छ । यो सबैलाई थाहा थियो । मलगायत अन्य खेलाडीले दबाब लिएनौँ । 

हामीले अफिसियल दबाबमा भएको पायौँ । उहाँहरूको एउटै चिन्ता नेपाल स्वर्णविहीन हुने भयो । यसले फाइनलको मध्यराति एक बजे नै होटेलमा नेपाली खेलकुदको सम्बन्धित निकायका अफिसियलले  मिटिङ राखे । सो मिटिङमा कप्तानका रूपमा म सहभागी भएँ । झन्डै राति १२–१ बजे बैठकमा बोलाइएको थियो । प्रशिक्षक, कप्तान, अफिसियलको बैठक बस्यौँ । ‘हामीले स्वर्ण पदक जित्न सकेका छैनौँ । एक खेल जिते, नेपालको सान उच्च हुनेछ, यतिवेला नेपाललाई स्वर्ण पदकको महत्व छ,’ अफिसियलले टिम मिटिङमा बोल्नुभएको थियो, ‘स्वर्ण जित्दा खेलाडीले नसोचेको रकम र कप्तानले गोर्खा दक्षिणबाहु पाउनेछन् ।’ सो मिटिङमा मैले उहाँहरूलाई भनेँ, ‘तपाईंहरू ढुक्कका साथ फर्कनुस् । नेपालले भोलि स्वर्ण पदक नै जित्नेछ । हामी रजतका साथ घर फर्कदैनौँ ।’ त्यसपछि उहाँहरू फर्कनुभयो । 

फाइनलमा बंगालीको समर्थन नेपाललाई
मिटिङबाट फर्केपछि मेरो मनमा लागेको एउटा प्रश्न थियो । अफिसियललाई स्वर्ण जित्छ भनियो । तर, फाइनलमा केही तलमाथि भयो भने मुख कसरी देखाउने चिन्ता लाग्यो । अगाडिसम्म दबाब नलिएका कप्तानले दुई सय प्रतिशत स्वर्ण जित्ने दाबी बैठकमा गरिसके । अब कसरी स्वर्ण जित्ने भन्ने प्रश्न थियो । उल्टै म आफूले दबाबको सामना गरेँ । यो कुरा मैले खेलाडी साथीलाई भनेको थिइनँ । साथीलाई बैठकबारे जानकारी गराएँ । हामीमाथि सिंगो नेपालले आशा गरेको छ । अब फाइनलमा भारतलाई हराएर स्वर्ण जित्नुपर्छ भन्ने आत्मविश्वास दिलाएँ । खेलाडी सबै तयार थिए । स्वर्ण भिन्डतमा नेपाल र भारत भए पनि समर्थक धेरै आएका थिए । अचम्मको पक्ष के रह्यो भने फाइनलमा हामीलाई समर्थन गर्न बंगाली थिए । सेमिफाइनमा उपद्रो मच्चाएका बंगालीले फाइनलमा भारतलाई हराउन नेपालको समर्थन गर्न आएका रहेछन् । 

भारतविरुद्ध सधैँ यस्तो हुन्छ नै । त्यसवेला हामी बंगलादेशी लिगमा पनि आबद्ध थियौँ । यसकारण उनीहरूको हल्का भाषा बुझ्ने भइसकेका थियौँ । हाम्रो समर्थनमा बंगालीको निकै हुटिङ आएको थियो । भारतको समर्थन गर्ने खासै कोही रंगशालामा थिएनन् । रंगशालाको चारैतिर नेपाल, नेपाल भनेर हुटिङ गरेको सुनिन्थ्यो । त्यो समयमा खेलाडी निकै बलिया थिए । शारीरिक रूपमा सबै खेलाडी राम्रा थिए । राष्ट्रका लागि सबै खेलाडीको सोच एकै हुन्थ्यो । नुनको सोझो गर्ने भनेझैँ क्लब र राष्ट्रका लागि सधैँ राम्रो गर्ने बानी थियो । खेल स्पिडले जित्ने हो । व्यक्तिगत रूपमा सबै खेलाडी राम्रा थिए । उमेश प्रधान, वसन्त, देवनारायण चौधरी, गोलरक्षक उपेन्द्रमान सिंह, राजेश थापा, राजेश मानन्धर, जीवन लामा, ज्ञानु शेरचन, सूर्यमान, दीपक अमात्य एक सय एक खेलाडी थियौैँ । 

भारतको लगातार अग्रता
मैदानमा भारतविरुद्ध खेल्दा खेलाडीको अनुहार झुकेको थिएन । सबै पूर्ण रूपमा तयार थिए । नेपाल र भारतबीचको खेल सुरु भयो । भारतले सुरुवातमै दबाब बनाउँदै गोल गर्यो । गोलले हामीसँगै बंगाली समर्थक निराश भए । तर, उमेश प्रधानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । १–१ को बराबरीपछि खेल रोमाञ्चक बन्यो । फेरि भारतले गोल गर्दै २–१ को अग्रता बनायो ।

खेलमा दुईपटक पछाडि परेको अवस्थामा समेत हामीले कुनै हतार गरेनौँ । दोस्रो हाफमा एउटा निर्णायक मोड आयो । खेल पनि सकिन लागेको थियो । त्यहीवेला भारतको पोस्टअगाडि एउटा फ्रिकिक नेपालले पायो । नेपालका म्याराडोना भनी चिनिने मणि शाहले फ्रिकिक प्रहार गर्नुभएको थियो । उनले यस्तो फ्रिकिक प्रहार गर्नुभयो कि भारतीय गोलरक्षकले छेक्ने कुनै अवसर नै पाएनन् । फ्रिकिक गोलसँगै नेपालले भारतलाई फेरि २–२ को बराबरीमा रोक्यो । ९० मिनेट र अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटका लागि नाम दिएका थियौँ । पेनाल्टीमा समेत भारतले अग्रता बनायो । नेपालको लगातार दुई पेनाल्टी खेर गयो । यसपछि गोलरक्षक उपेन्द्रमानले दुई पेनाल्टी बचाउँदा नतिजा हाम्रो नियन्त्रणमा आएको थियो । सेडनडेथमा भारतीय खेलाडीको प्रहार बाहिरिएको थियो । नेपालले आफ्नो पालोमा गोल गर्दा स्वर्ण पक्का थियो । नेपालबाट प्रहार गर्न वसन्त गुरुङ भाइको नाम थियो । हामीले बाहिरबाट उसलाई ‘भाइ कुनामा च्यापेर हान’ भन्यौँ । उसले हामीले भनेको सुन्यो कि ! कुना च्यापेरै प्रहार गरेपछि गोल भयो । त्यसपछि के चाहियो र, नेपालले फाइनलसँगै स्वर्ण जित्यो । फुटबलले छैटौँ साफमा नेपाललाई स्वर्णविहीन हुनबाट रोक्यो । 

खेल्दाभन्दा खुसियाली मनाउँदा थाकियो 
मैदानमा थाकेको भान नै भएन । तर, स्वर्ण जितेको खुसियालीपछि थकित भएँ । सबै खेलाडी ट्रयाकमा दगुर्दा बढी थाकेका थियौँ । बंगाली समर्थकबीच हामी नेपालको झन्डा फहराउँदै ट्रयाकमा कुदेका थियौँ । नेपाल, नेपाल भन्ने आवाज आइरह्यो । डाक्टर पढ्न गएका विद्यार्थी टन्नै थिए । उनीहरूले हामीलाई नेपालको झन्डा दिएका थिए । उनीहरूसँग निकै रमाइलो भएको थियो । खेल जितेपछि राजदूतावासमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फोन गरेर बधाई दिनुभयो । ढाकामा नेपालका लागि पहिलो स्वर्ण पदक जितेपछि सरकारले खेलाडीको भव्य स्वागत गरेको थियो । दुई रसियन जिपमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला हुँदै दशरथ रंगशालासम्म विजयी र्याली गरिएको थियो । त्यसवेलाको अवस्था नै त्यस्तै थियो । 

See More On

सुझावित समाचार