पोखरासँगै समग्र देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘डुलुवा’ अभियानले पोखराको कास्कीकोटदेखि भारतको कन्याकुमारीसम्मको यात्रा सुरु गरेको छ । पोखरा– २४ स्थित कास्कीकोटदेखि भारतको कन्याकुमारीसम्मको यात्रालाई ‘केटुके’ नाम दिएर अभियानको टोली बिहीबार पोखराबाट त्यसतर्फ लागेको हो ।
९ भदौसम्मको २५ दिने यात्रामा टोलीका १९ जना सदस्य सहभागी छन्। पोखराको कास्कीकोटबाट सुरु यात्रा भारतको रक्साेल हुँदै पटना, कोलकाता, पुरी, भाइजाग, तिरुपति, चेन्नई, पोंडिचेरी, रामेश्वरम हुँदै कन्याकुमारी पुगेर कोची, गोवा, मुम्बई, राजकोट, द्वारका, उदयपुर, जयपुर, दिल्ली, अयोध्याबाट बुटवल प्रवेश गरेर पुनः पोखरामै आएर सम्पन्न हुनेछ ।
पोखराबाट निस्केको ‘डुलुवा’ अभियानको टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलगायतले नेपाल र भारतको झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए ।
सन् २००८ मा प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध पोखराका केही युवाले औपचारिक रूपमा नेपाल घुम्न थालेका थिए । सन् २०२० मा सोही टोलीले समूहको ‘डुलुवा’ नामकरण गर्दै नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’लाई युवालक्षित जिम्मेवारी पर्यटन प्रवर्द्धनको सोच विकास गरी सोहीअनुसार गर्दै आएको संयोजक भट्टराईले जानकारी दिए ।
‘पहिलो देश अनि विदेश’ भन्ने नारालाई आत्मसात् गर्दै आएको ‘डुलुवा’ अभियान टोलीका सदस्यहरूले नेपालका ७० जिल्लाको भ्रमण गरिसकेका छन् भने विदेशमा पोखरादेखि भारतको लेह लद्दाखसम्मको सात हजार किलोमिटरको दूरीकाे यात्रा गरिसकेको उनले बताए । पोखरा र समग्र देशको पर्यटन, प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको सुन्दरताको प्रचारप्रचार गर्दै भारतीय पर्यटकहरूलाई पोखरा र नेपाल भ्रमण गर्न निम्ताे दिने उद्देश्य अभियानको रहेको संयोजक योगश भट्टराईले जानकारी दिए ।
यससँगै भारतीय पर्यटकलाई यस क्षेत्रमा बढ्दो साहसिक पर्यटनका सम्भावना परिचित गराउन भारतका विभिन्न सहरमा सरोकारवालाहरूसँग छलफल एवं अन्तर्क्रिया, पत्रकार भेटघाट कार्यक्रम आयोजना, नेपालका विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने संयोजक भट्टराईले बताए । यात्राका क्रममा भेटिएका पर्यटकीय स्थलहरूको उजागर र नेपाल–भारतबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनु भ्रमणकाे उद्देश्य रहेको उनको भनाइ छ ।