देशभर हैजा संक्रमणको अवस्था कस्तो छ ?
खानेपानीको कमजोर स्वच्छताका कारण हाम्रो देशमा हरेक वर्ष फाट्टफुट्ट हैजाका बिरामी देखिएकै हुन्छन् । तर, विगतमा जाजरकोट या कपिलवस्तुमा देखिएका घटनाचाहिँ ठूला हुन् । बढी जनसंख्या भएका सहरमा हैजा देखिनु जहिल्यै चिन्ताको विषय बन्छ । किनकि, बाक्लो बस्तीमा यो छिटो फैलिन्छ । त्यसैले, अहिले हामीले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह आदिलाई पानीको मुहान शुद्धीकरणका लागि सचेत गराएका छौँ । सम्भावित जोखिमलाई ध्यानमा राखेर तत्काल परीक्षणका लागि आवश्यक किटको भण्डारण बढाएका छौँ । किटले पोजिटिभ देखाएका नमुनालाई ल्याबमा ल्याएर कल्चर गरेर कन्फर्म गर्छौं । अहिले ललितपुरको ठैबमा १०, इमाडोलमा ३, कैलालीमा ८ र काठमाडौंको टोखामा १ जनामा हैजा पुष्टि भएको छ ।
उपत्यकाजस्तो घना बस्तीमा हैजा प्रभावित बढ्दै जानु कति चिन्ताको विषय हो ?
यो निकै चिन्ताको विषय हो । खासगरी पानी उमालेर मात्र पिउने, नभए क्लोरिन राखेर निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने, खुला स्थानमा दिसापिसाब नगर्ने, बासी, सडेलेका वस्तुको सेवनबाट जोगिने विषयमा हामी सबै सचेत हुनु जरुरी छ । ताजा, सफा र झोलिलो वस्तु बढी सेवन गर्नुपर्छ । सामान्य झाडापखाला ठानेर बसेमा हैजाबाट ५० प्रतिशतसम्मको मृत्यु हुन सक्ने र समयमै चिकित्सककहाँ पुगेमा मृत्युदर शून्यमा झार्न सकिन्छ ।
प्रत्येक वर्ष तीनै सहरहरूमा किन हैजा दोहोरिएर देखिइरहेको छ ?
घना बस्ती, खानेपानीको असुरक्षित स्रोत, खुला दिसा, पिसाब गर्ने प्रवृत्ति, पानी उमालेर या निर्मलीकरण गरेर पिउने बानीको अभाव जस्ता कारणले हैजा तिनै सहरहरूमा दोहोरिएर देखिइरहेको छ ।