तेस्रोपटक उपाधि जित्ने लक्ष्य राखेको नेपालले बिहीबार पहिलो खेलमा श्रीलंकामाथि २५–१९, २५–१८ र २५–१९ को सहज जित निकाल्यो
आयोजक नेपालले काभा महिला भलिबल नेसन्स लिगको उद्घाटन खेलमा बिहीबार श्रीलंकालाई सोझो सेटमा हराएको छ । दशरथ रंगशालाको कभर्ड हलमा नेपालले श्रीलंकामाथि २५–१९, २५–१८ र २५–१९ को सहज सेटमा जित हात पारेको हो । श्रीलंकाविरुद्ध मिडल बल्कर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । तेस्रोपटक उपाधि जित्ने लक्ष्य राखेको नेपालले श्रीलंकाविरुद्ध सुरुवातदेखि नै दबाब राखेको थियो ।
नेपालले पहिलो सेटमा ६–२ को दरिलो अग्रता लिएको थियो । खेलको कुने पनि सेटमा पछि नपरेको नेपालले निरन्तर अंक बटुल्दै पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा राख्यो । नेपालको तुलनामा पाहुना टोलीका खेलाडीको हाइट राम्रो थियो । तर, श्रीलंकाली खेलाडीले त्यसको फाइदा उठाउन सकेनन् । अर्कोतिर युवा तथा अनुभवी खेलाडीको मिश्रण रहेको नेपालले दोस्रो सेटमा थप राम्रो प्रदर्शन गरेको थियो । पहिलो सेटमा गरेको गल्ती सच्याउँदा दोस्रो सेटमा श्रीलंकाले अग्रता लिने अवसर नै पाएन ।
लगातार दुई सेट जितेको नेपालले तेस्रो सेटमा दबाबविना प्रतिस्पर्धा गरेको थियो । श्रीलंका खेलमा टिकिरहन तेस्रो सेट जित्नुपर्ने थियो । श्रीलंकाले योजनाअनुसारै नेपालमाथि सुरुदेखि नै दबाब राख्यो । श्रीलंकाले एक समय ७–३ ले अग्रता लिएको थियो, तर नेपाली खेलाडी निराश भएनन् । निरन्तर रूपमा अंक बराबरी गर्ने प्रयासमा रहे । नेपालले अन्तत खेल १५–१५ को बराबरीमा पुर्याएको थियो । निरुता ठगुनाको स्पाइकमा नेपालले १६–१५ को अग्रता लियो ।
नेपालले तेस्रो सेटमा पहिलोपटक अग्रता बनाएपछि श्रीलंका एकाएक दबाबमा आयो । श्रीलंकाले दबाब झेल्न नसक्दा नेपालले लगातार सात महत्वपूर्ण अंक जोडेको थियो । नेपालले उत्कृष्ट पुनरागमन गरी तेस्रो सेट २५–१९ ले जित्यो ।
भारतले इरानलाई हरायो
साबिक विजेता भारतले लिगमा पहिलो जित निकालेको छ । सहभागीमध्ये बलियो मानिएको इरानलाई भारतले ३–१ को सेटमा निराश बनाएको थियो । भारत २५–२०, २५–१८, १९–२५ र २५–११ ले विजयी भयो । इरानले भारतलाई स्तब्ध पार्ने उद्देश्यका साथ प्रतिस्पर्धा गरेको थियो । तर, दक्षिण एसियाकै बलियो भारतले इरानका सबै प्रयास विफल पार्यो । पहिलो सेट प्रतिस्पर्धामक बनेको थियो ।
भारतले २५–२० ले पहिलो सेट जितेको थियो । त्यसपछिको दोस्रो सेटमा भारत २५–१८ ले अगाडि रह्यो । लगातार दुई सेट गुमाएको इरानले तेस्रो सेटमा पुनरागनम गरेको थियो । इरानको युवा टोलीले तेस्रो सेटमा गल्ती सच्याएको थियो । इरानले भारतमाथि एकपक्षीय रूपमा दबाब राख्दै २५–१९ ले सेट जित्यो । यससँगै भारत र इरानबीच २–१ को सेट भयो । तेस्रो सेटको प्रदर्शनसँगै इरानले खेलमा भारतलाई हराउन सक्ने क्षमता देखाएको थियो । तर, भारतले चौथो सेटमा कुनै गल्ती गरेन । यस सेटमा भारत पूरै हाबी देखिएको थियो । ब्लक र सर्भिसमा राम्रो प्रदर्शन गरेको भारतले चौथो सेट २५–११ ले जित्यो ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरान सहभागी छन् । शुक्रबार पहिलो खेलमा इरानले श्रीलंकाको सामना गर्नेछ । दोस्रो खेल माल्दिभ्स र भारतबीच हुनेछ ।
भलिबलको आफ्नै हल बनाउन पहल गरिने
खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबललाई विद्यालयको प्राथमिक तहदेखि नै प्राथमिकतामा राख्ने बताएका छन् । काभा नेसन्स महिला लिगको उद्घाटनका अवसरमा भलिबललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने उनले बताएका हुन् । ‘अब विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो बुझाइ छ, यसका लागि स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल भइरहेको छ,’ मन्त्री चौधरीले भने ।
उनले भलिबलका लागि सुविधा सम्पन्न भौतिक संरचना बनाउन पहल गर्ने बताए । भलिबल राष्ट्रिय खेल भएकाले संघ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाउने उनले बताए ।
बिच–भलिबलमा मिश्रित नतिजा
भुटानको थिम्पुमा बिहीबारदेखि सुरु भएको काभा बिच–भलिबल च्याम्पियनसिपमा नेपालले मिश्रित नतिजा निकालेको छ । नेपालको महिला टोली विजयी हुँदा पुरुष भने पराजित भयो । चाङलिमिथाङ रंगशालामा कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तानलाई २१–१७ र २१–१५ को सेटमा पराजित गरेको छ । पुरुषतर्फको खेलमा राष्ट्रिय कप्तानसमेत रहेका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्सको ‘ए’ टोलीसँग २१–१६ र २१–१५ ले पराजित भयो । तीन दिन चल्ने प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा सात टोली सहभागी छन् । नेपालबाट महिला र पुरुष दुवैमा एक–एक टोली सहभागी छन् ।