सामसङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै पुनः विरोध प्रदर्शन गरेका छन्।
नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घर घेराउ गरेका हुन्। युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हडताल गरेको थियो। उक्त समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो।
आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मेसिन अवरुद्ध गरे पनि दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ भए पनि प्रभाव तत्काल नहुने सनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसइयू)का उपाध्यक्ष ली ह्युन–कुकले बताए।
युनियनले बुधबार व्यवस्थापनसँग अन्तिम वार्ता गरेको, तर सहमतिमा पुग्न नसकेपछि आन्दोलनको घोषणा गरेको थियो।
सामसङ इलेक्ट्रोनिक्सको हडतालका लागि ली जे योङ जिम्मेवार हुनुपर्छ भन्ने पोस्टर बोकेका युनियनका अधिकारीहरू बिहीबार सामसङका अध्यक्ष ली जे योङको घरबाहिर भेला भई प्रदर्शन गरेका थिए।
कम्पनीले हडतालमा सहभागीको ‘कालोसूची’ सिर्जना गर्नेसहित अवैध माध्यमबाट हडताल तोड्न खोजिरहेको युनियनका प्रमुख सोन वु मोकले बताए।
यसैबीच सामसङले बुधबार श्रमिक युनियन हडताल चाँडै समाप्त भएको सुनिश्चित गर्न सञ्चार र छलफल गरिरहेको तथा ग्राहकको प्रतिक्रिया दिन कुनै समस्या नभएको जनाएको छ।
आन्दोलनरत नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियनमा कम्पनीको एकचौथाइ (करिब ३६ हजार) सदस्य रहेका दाबी गरिएको छ। कम्पनीमा श्रम संगठन गर्न वर्जित गरिएको छ।
दुई वर्षअघि युनियनले लीको निवासअगाडि प्रदर्शन गरी तीनवटा थप बिदाहरू थप्न सफल भएको थियो।