हानियेको मृत्युले ठूलो आक्रोश निम्त्याउने सम्भावना भएकाले इरानले इजरायलविरुद्ध हमासमार्फत तुरुन्त बदला लिन सक्छ
प्यालेस्टिनी लडाकु समूह हमासले आफ्ना शीर्ष राजनीतिक नेता इस्माइल हानियेको तेहरानस्थित निवासमा हत्या भएको जनाएको छ । हमासले हत्याका लागि इजरायल जिम्मेवार रहेको बताएको छ । हमासका अनुसार इरानका नयाँ राष्ट्रपतिको पदबहाली समारोहमा भाग लिएपछि तेहरानस्थित उनको निवासमा जायनिस्ट (उग्र–यहुदी राष्ट्रवादी एवं सर्वोच्चतावादी) को हवाई आक्रमण’ भएको हो । इरानले हानियेको हत्या कसरी भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण दिएको छैन । तर, अनुसन्धान भइरहेको बताएको छ । गाजामा युद्ध रोकिने कुनै संकेत नदेखिएको र पूरै मध्यपूर्व तरबारको धारमा अडिएको अवस्थामा यो हत्याले बृहत् क्षेत्रीय युद्ध भड्काउन सक्ने आशंका गरिएको छ ।
को हुन् इस्माइल हानिये ? : कतारको दोहामा बसोवास गरिरहेका हानिये हमासका सबैभन्दा वरिष्ठ राजनीतिक नेता हुन् । गाजा युद्धमा अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजरायलसँग युद्धविराम वार्तामा बस्ने उनी वरिष्ठ हमास नेता थिए । हत्यापछि स्वभावतः यी वार्ता निष्क्रिय हुनेछन् । उसो त इजरायलले अहिलेसम्म उनको हत्याको जिम्मेवारी लिएको छैन र इजरायलले गुप्तचरी कारबाहीका लागि कहिल्यै जिम्मेवारी लिने गरेको पनि छैन । तर, हत्या इजरायली पक्षले नै गरेको देखिन्छ, किनभने हमासका प्रभावशाली नेता हानिये लामो समयदेखि इजरायली लक्ष्यको सूचीमा थिए ।
अचम्मको कुरा के छ भने यो हत्या कहाँ र कसरी गरियो ? हानिये इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सहभागी हुन तेहरान पुगेका थिए । वास्तविक विवरण अझै पनि अस्पष्ट छ, तर हानिये आफ्नो एक अंगरक्षकका साथ निवास गरिरहेको भवनमा भएको विस्फोटमा मारिएका थिए भन्ने देखिन्छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले हत्याको अनुसन्धान गरिरहेको छ ।
हत्याले बृहत् क्षेत्रीय युद्ध भड्काउने सम्भावना : हाल दुई महत्वपूर्ण मुद्दा छन्, जसमाथि आगामी घन्टा र दिनमा विस्तृत रूपमा छानबिन हुनेछ । पहिलो इजरायल हानियेको हत्याका लागि जिम्मेवार छ भनेर मान्ने हो भने यसले इरानले बदला लिने कि नलिने भन्ने प्रश्न खडा गर्छ, किनभने हानियेको मृत्यु हुँदा उनी इरानी संरक्षणमा थिए । उनको मृत्युले इरानमा ठूलो आक्रोश निम्त्याउने सम्भावना छ । नतिजा इरानले इजरायलविरुद्ध हमासको माध्यमबाट तुरुन्त बदला लिन सक्छ । यसले बढ्दो तनाव र क्षेत्रीय अस्थिरताको सम्भावनामाथि जोड दिन्छ, किनभने इरानको प्रतिक्रियाले व्यापक भूराजनीतिक परिदृश्यलाई प्रभाव पार्न सक्छ । इरान र इजरायलबीच लामो समयदेखि तनाव रहँदै आएको छ । अप्रिलमा इरानले सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा गरेको आक्रमणको बदलास्वरूप इजरायलमा तीन सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो । इजरायलले वाणिज्य दूतावासमा गरेको आक्रमणमा कैयौँ वरिष्ठ आइआरजिसी नेता मारिएका थिए ।
हानियेमाथि भएको आक्रमणले इजरायलको हाल इरानमा रहेको उल्लेखनीय गुप्तचरी र परिचालन पहुँचको संकेत गर्छ । हालैका वर्षमा आणविक कार्यक्रममा काम गर्ने इरानी वैज्ञानिकको शृंखलाबद्ध रूपमा हत्या भइरहेको छ । यी हत्यामा आणविक कार्यक्रमका ‘जनक’ भनेर चिनिने मोहसेन फख्रिजादेह पनि पर्छन् । उनको हत्या सन् २०२० मा परिष्कृत रिमोट–कन्ट्रोल मेसिनगनबाट गरिएको थियो ।
यद्यपि उपलब्ध जानकारीका आधारमा इरानमा अझै पनि धेरै हमास जीवितै छन् । तिनीहरू इजरायलको लक्ष्यको सूचीमा छन् । यी नेता हमास संगठनभित्रका प्रमुख व्यक्तित्व हुन् र यिनको निरन्तरको उपस्थिति इजरायली सुरक्षा बलका लागि चुनौती बनेको छ । गाजाका राजनीतिक नेता याह्या सिनवारले अझै पनि इरानबाट विद्रोहका कारबाहीको निर्देशन दिइरहेका छन् । यही जुलाईमा इजरायलले एक आक्रमण गरेको थियो, जहाँ भूमिगत सैन्य नेता मोहम्मद देफ मारिएको विश्वास गरिएको थियो । यद्यपि हमासले यसलाई स्वीकार गरेको छैन र देफ यसअघि पनि धेरै हत्या प्रयासबाट बाँच्न सफल भएका छन् ।
दोस्रो ठूलो प्रश्न के हो भने लेबनानमा आधारित हेजबुल्लाहले इरानका लागि इजरायलमा आक्रमण गर्न सक्छ । हानिये हत्या दक्षिणी बेरुतमा इजरायली हवाई आक्रमणको केही घन्टापछि भएको थियो, जसमा इजरायली अधिकारीले वरिष्ठ हेजबुल्लाह कमान्डर फुआद सुक्र मारिएको विश्वास गर्छन् ।
यदि इरानले बदला लिने हो भने उसले लेबनानबाट हेजबुल्लाहमार्फत लिन सक्छ । हेजबुल्लाहको एक प्रमुख क्षेप्यास्त्र ब्यारेजले छोटो अवधिमा ठूलो मात्रामा रकेट प्रक्षेपण गरेर इजरायलको आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई सम्भावित रूपमा पराजित गर्न सक्छ । स्मरण रहोस्, आइरन डोम छोटो दूरीका खतरालाई रोक्न र नष्ट गर्न निर्माण गरिएको हो । तर, उच्च–घनत्वको आक्रमणको सामना गर्दा यसको प्रभावकारितामा चुक हुन सक्छ ।
इरानसँग सिरिया र इराकमा सिया लडाकु समूहसहित अन्य सहयोगी पनि छन् । यसबाहेक यमनका हुथी, जसले गत साता तेलअभिभमा ड्रोन हमला सुरु गरिसकेका छन् (पछि इजरायलले तुरन्तै प्रत्याक्रमण गरेको थियो), ती पनि इरानका सहयोगीमध्ये एक हुन् । सहयोगीको यो सञ्जालले इरानलाई क्षेत्रीय गतिशीलतालाई प्रभाव पार्न र सम्भावित रूपमा द्वन्द्व बढाउन विभिन्न रणनीतिक विकल्प प्रदान गर्छ ।
थप जानकारी नआएसम्म अहिले नै के हुन्छ, भन्न गाह्रो छ । तर, हानियेको हत्याले गाजा युद्ध र सम्भवतः मध्यपूर्वमा व्यापक युद्ध भड्काउने सम्भावना छ ।
(पारमेटर अस्ट्रेलियन नेसनल विश्वविद्यालयका सेन्टर फर अरब एन्ड इस्लामिक स्टडिजका शोधार्थी हुन्)
द कन्भर्सेसनबाट