२४ दिनदेखि शम्भुराम ओड परिवारकाे विद्यालयमै वास

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

भीमदत्त नगरपालिका– ९ मटैना निङलाशैनीका स्थानीय शम्भुराम ओडको आफ्नै घर छैन । आफ्नो घर नभए पनि उनी देवबहादुर चन्दको घरमा भाडामा बस्दै आएका छन् । विगत १० वर्षदेखि ओड परिवार चन्दको घरमा बस्दै आएकाे थियाे ।

नहर भत्किएर चन्दको पक्की घर उच्च जोखिममा परेपछि त्यही घरमा बस्दै आएकाे ओड परिवार विस्थापित भएकाे छ। ओड परिवार २४ दिनदेखि विद्यालयमा बस्दै आएकाे छ ।

‘म देवबहादुर चन्द घरबेटीलाई वार्षिक २० हजार भाडा लिएर बस्दै आएको छु,’ शम्भुराम ओडले भने, ‘अहिले यो घर जोखिममा परेपछि हामी विस्थापित भएका छौँ, मेरो अन्त घर छैन, चार सातादेखि विद्यालयमै बसेको छु, घरजस्तो विद्यालयमा सहज हुने कुरै भएन ।’ आफूले बनाएको गोठ र भान्साघर भत्किएको उनले बताए ।

ओड र नाथ परिवारले सडकको ह्युमपाइपको पानी निकास गरिदिनुपर्ने, भत्किएको नहर पुनर्निर्माणसँगै भत्किएको खेतसमेत व्यवस्थापन गरेर कटानी रोक्न माग गरेका छन्। भीमदत्त नगरपालिका– ९ का वडाध्यक्ष गगन नाथले उक्त भत्किएको स्थानमा पुनर्निर्माणका लागि पालिका, सिँचाइ, सडकलगायतका सरकारी निकायसँग समन्वय भइरहेको बताए ।

‘वर्षातले भत्किएको नहर, स्थानीयका घर, संरचना, खेतबारी संरक्षणमा लागि वडाले पहल गरिरहेको छ,’ उनले भने, ‘वडाबाट माथिल्ला निकाय घचघच्याउने काम जारी छ।’  महाकाली सिँचाइ तेस्रो चरण आयोजना प्रमुख कुसाङ शेर्पाले मटैनामा पानीले भत्किएको नहर र स्थानीयका खेत पुनर्निर्माणका लागि आयोजनाले ठेक्का आह्वान गरेर केही दिनमै काम सुरु गर्ने बताए । 

सुझावित समाचार