तेस्रो संस्करणमा भारतसँग पराजित भएपछि नेपाल काभा नेसन्स लिगको ह्याट्रिक उपाधिबाट चुकेको थियो । आजदेखि दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा नेपाली टोलीले तेस्रोपटक उपाधि जित्ने लक्ष्य राखेको छ
लगातार दुईपटक च्याम्पियन भएको नेपाल गत संस्करणमा भारतसँग पराजित हुँदा काभा नेसन्स लिगमा ह्याट्रिक उपाधिबाट चुकेको थियो । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को चौथो संस्करण बिहीबारदेखि दशरथ रंगशालाको कभर्ड हलमा हुँदै छ । नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्नेछ । घरेलु कोर्टमा नेपालसमक्ष उपाधि घरमै फर्काउने अवसर छ । अरुणा शाहीको कप्तानीमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले दुई महिनादेखि प्रशिक्षण गरेको छ ।
नेपालसहित साबिक विजेता भारत तथा श्रीलंका, इरान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालले पहिलो दुई संस्करणकै लयमा प्रतिस्पर्धा गर्ने योजना छ । टोलीमा अनुभवी र प्रभावशाली स्पाइकर प्रतिभा मालीको साथ हुनेछैन । प्रशिक्षक जगदीश भट्टले प्रतिभाको कमी आउन नदिने योजनाका साथ खेलाडीले तयारी गरेको बताए । ‘उपाधि जित्ने लक्ष्यसका साथ दुई महिनादेखि तयारी गरिरहेका छौँ । खेलाडीमा पनि केही गर्नुपर्छ भन्ने भावना छ,’ उनले भने, ‘उपाधि घरमा फर्काउन खेल्छौँ ।’
काभामा भारतलाई दुईपटक पराजित गरेको नेपालले चौथो संस्करणमा पनि हराउन सक्ने विश्वास खेलाडीसँग रहेको प्रशिक्षक भट्टले बताए । ‘हामी भारतसँग दुईपटक हारिसकेका छौँ । यसपटक खेलाडीले भारतलाई हराउन सक्ने विश्वास लिएका छन्,’ उनले भने । नेपालले प्रतियोगिताअघि रसियाको टोलीविरुद्ध दुई खेल खेल्यो । रसियन खेलाडीसँग नेपाल रणनीतिक र शारीरिक रूपमा कमजोर देखिएको थियो ।
रसियासँग दुई खेलमै सोझो सेटमा पराजित भए पनि नेपालले अन्तर्राष्ट्रिय म्याच एक्सपोजर लिएको थियो । नेपालकी स्पाइकर उषा भण्डारी दुई मैत्रीपूर्ण खेलका कारण मनोबल उच्च रहेको बताउँछिन् । ‘हामीले ओलम्पिकमा पदक जितेको टोलीविरुद्ध खेल्यौँ । दुवै खेलमा हार बेहोरे पनि मनोबल उच्च भएको छ,’ भण्डारीले भनिन्, ‘सो खेलबाट धेरै सिक्ने अवसर पायौँ ।’ सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुद (साग)मा भारतसँग फाइनलमा पराजित हुँदा नेपालले रजत पदकमा चित्त बुझाएको थियो । लगातार दुई सेट जितेर पनि नेपालले त्यसपछिका तीन सेटमा हारको सामना गरेको थियो ।
भारतले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–२ को सेटमा बाजी मार्दै स्वर्ण जितेको थियो । त्यसपछि भएको भेटमा पनि भारतसँग ३–१ ले नै पराजित भएको हो । कप्तान अरुणा पनि प्रतियोगितामा उपाधि जित्ने उद्देश्यका साथ खेल्ने बताउँछिन् । उनी एभरेस्ट भलिबल क्लबलाई एनभिए लिग जिताउँदा तिनै भारतीय खेलाडीका सहकर्मी थिइन् । त्यसले पनि सहज हुने कप्तान शाहीको बुझाइ छ ।
तालमेल मिलेको नेपालको टोली
प्रशिक्षक भट्टले नेपाली टोलीको तालमेल राम्रो रहेको बताएका छन् । नयाँ तथा युवा खेलाडीबाट उनी आशावादी छन् । साथै, अनुवभी खेलाडीले आफ्नो कौशलता देखाउनेमा प्रशिक्षक भट्ट आत्मविश्वासी छन् । ‘नयाँ खेलाडीमा जित्नैपर्छ भन्ने भावना छ । पुराना खेलाडी पनि आफ्नो लय गुमाउने मनसायमा छैनन्,’ उनले भने । रसियाविरुद्ध स्पाइकर आरती सुवेदी र मिडब्लकर सुमित्रा रेग्मीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । प्रगति नाथले पनि धेरै खेल खेल्न पाएकी छैनन् । टोलीमा अरुणासहित सरस्वती चौधरी, सलिना श्रेष्ठ, उषा भण्डारी, पुनम चन्द, संगम महतो, साफिया पुन, निरुता ठगुन्ना, शान्तिकला तामाङ र कविता भट्ट अनुभवी रहेका छन् ।
दुईपटक च्याम्पियन नेपाल
नेपालले सन् २०१९ र २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स च्यालेन्ज कप (काभा नेसन्स लिग) उपाधि जितेको थियो । नेपाली महिला भलिबल टोलीले जितेको यो नै पहिलो उपाधि हो । त्यस्तै, सन् २०१९ को १३औँ सागमा उपविजेता भयो । पछिल्लोपटक सन् २०२३ मा काभा महिला च्यालेन्ज कपमा नेपाल भारतसँग सेमिफाइनलमा पराजित भयो । तेस्रो स्थानको खेलमा उज्वेकिस्तानलाई हराउँदै तेस्रो भएको हो ।
खेलाडीको मनोबल उच्च छ : जगदीश भट्ट, प्रशिक्षक, नेपाल
हामीले पहिलो र दोस्रो संस्करण जित्यौँ । गत संस्करणमा जित्नुपर्ने थियो, तर उपाधिबाट वञ्चित भयौँ । अब घरेलु कोर्टमै उपाधि जित्ने अवसर छ । हामीले काभाअघि रसियन टोलीविरुद्ध खेल्यौँ । त्यसैले राम्रो तयारी भएको छ । भारत र इरान बलिया हुन् । श्रीलंका र माल्दिभ्स हाम्रो स्तरका हुन् । खेलाडीमा जित्ने मनोबल छ । यसपालि हामीहरूको ब्लकमा राम्रो छ । सर्भिस र रिसिभ पनि राम्रो भएको छ ।
हामी तयार छौँ : अरुणा शाही, कप्तान, नेपाल
काभा लिगका लागि तयारी राम्रो भएको छ । रसियन टोलीसँग खेल्दा झनै राम्रो भएको छ । उनीहरूविरुद्ध पहिलो खेलमा गाह्रो भएको थियो । दोस्रो खेलमा राम्रो गर्न सफल भयौँ । रसियाविरुद्ध हाइटमा समस्या थियो । अब, त्यहाँ भएको कमीकमजोरीलाई सुधार गरेर काभा खेल्छौँ । काभामा सहभागी सबै टिम तयार छन् । इरान र भारत धेरै राम्रा छन् । श्रीलंका पनि राम्रो छ । भाग्यले पनि धेरै साथ दिन्छ ।