फैलिँदै हैजा, २२ पुगे संक्रमित

उपत्यकाका नदीमा आएको बाढी बस्ती छिरेपछि संक्रमणको झन् धेरै जोखिम

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

ललितपुरको इमाडोलमा थप दुईजनामा हैजा पुष्टि भएसँगै संक्रमितको संख्या २२ पुगेको छ । यो वर्ष गत ८ साउनमा ललितपुरकै गोदावरीमा रहेको नसारहित समाज पुनस्र्थापना केन्द्रका १६ वर्षीय बालकमा संक्रमण पुष्टि भएसँगै हैजा ‘आउटब्रेक’ भएको थियो । 

बुधबारसम्म ललितपुरमा १४, काठमाडौंमा एक र धनगढीमा सातजनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ललितपुरका १२ संक्रमित गोदावरी क्षेत्रकै छन् जसमध्ये अधिकांश पुनस्र्थापना केन्द्रका हुन् । त्यस्तै, काठमाडौंका संक्रमित कालीमाटी क्षेत्रका हुन् । उनलाई १४ साउनमा संक्रमण पुष्टि भएको थियो । धनगढीमा भने १० साउनमा पहिलो केस देखिएको थियो । 

हैजा पुष्टि भएका तीनै क्षेत्रमा झाडापखालाका लक्षणसहितका अन्य बिरामी पनि देखिएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ । महाशाखा प्रमुख यदुचन्द्र घिमिरेले झाडापखालाको लक्षण हैजा हुन सक्ने भएकाले बेवास्ता नगर्न र सावधानी अपनाउन आग्रह गरेका छन् । वर्षा र बाढीका कारण पिउने पानी दूषित हुनाले पनि संक्रमण फैलिएको छ । बाक्लो बस्ती भएका स्थानमा संक्रमण देखिएकाले सचेत हुन घिमिरेको आग्रह छ । 

खोलाको बाढी बस्ती पस्दा हैजाको झन् जोखिम
काठमाडौंमा मुसलधारे वर्षासँगै नदीको बाढी करिडोर क्षेत्रका बस्तीमा छिर्दा प्रदूषित भएको छ । बाढीसँगै खानेपानीका स्रोतहरूमा ढल मिसिएकाले हैजाको जोखिम झन् बढेको बताउँछन् इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. मुकेश पौडेल । मंगलबार रातिको वर्षासँगै बागमती, विष्णुमती, मनोहरालगायत खोलामा आएको बाढी प्रवेश गर्दा आसपासका बस्तीहरू अस्तव्यस्त बनेका छन् । 

‘खानेपानीका स्रोतमा ढलसहितको बाढी मिसिएको छ । यदि बाढीमा हैजाको कीटाणु भएमा सीधै मानिसको सम्पर्कमा आउने जोखिम छ,’ डा. पौडेलले भने । सामान्यतया हैजाको कीटाणु पानीमै एक हप्ताभन्दा बढी बाँच्न सक्ने र फैलिन सक्ने भएकाले बाढी प्रभावित क्षेत्रहरू उच्च जोखिममा रहेको उनले बताए । संक्रमणबाट जोगिन पानी उमालेर वा पूर्णतया निर्मूलीकरण गरेर मात्रै पिउन, खानेकुरा राम्ररी पकाएर वा पखालेर खान, सरसफाइमा ध्यान दिन, विशेषगरी शौचालय सफा राख्न र शौचालय प्रयोग गरिसकेपछि हात राम्ररी सफा गर्न चिकित्सकहरूको सुझाव छ । 

यदुचन्द्र घिमिरे, प्रमुख इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
झाडापखाला लागेको छ भने हैजाको लक्षण पनि हुन सक्छ । बेवास्ता गर्नुहुँदैन, डाक्टरसँग परामर्श लिनुपर्छ । वर्षा र बाढीले पिउने पानी दूषित हुन्छ । यसले हैजा संक्रमण फैलिन सक्छ । काठमाडौं र ललितपुरका घना बस्तीमा संक्रमण देखिएकाले सचेत हुन आवश्यक छ ।

See More On

सुझावित समाचार