पार्टीसँगको समन्वय र सहकार्यमा प्रदेशवासीको हितमा काम गर्छौँ : मुख्यमन्त्री लामा

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले पार्टीसँगको समन्वय र सहकार्यबाट प्रदेशवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

बुधबार कांग्रेस बागमती प्रदेश समितिले हेटौँडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले कांग्रेस जनताको पार्टी भएकाले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

राजनीतिक स्थिरता र जनताको अवस्था परिवर्तनको लागि कांग्रेस सरकारमा आएको उल्लेख गर्दै उनले सरकारमा रहेर पार्टीले सोचअनुसारको काम गर्ने बताए। सरकारमा गएका मन्त्रीहरूले गुनासोको अवसर नदिने मुख्यमन्त्री लामाको दाबी थियो।

कार्यक्रमा बागमती प्रदेश सभा सदस्यसमेत रहेका कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई बधाई ज्ञापन गर्दै पार्टीसँगको समन्वय र सहकार्यमा आमनागरिकको हितमा काम गर्न आग्रह गरे। 

प्रदेशको आवश्यकताअनुसार उत्साह र इमानदारीसाथ काम गर्नुपर्ने उल्लेख गर्दै उनले कांग्रेसबाट जनताले ठूलो अपेक्षा राखेको बताए। उनले नवनियुक्त मन्त्रीहरूको कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेका थिए।

कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री लामासहित कांग्रेसबाट प्रदेश सरकारमा रहेका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण श्रेष्ठ र विनाविभागीयमन्त्री मदुकुमार श्रेष्ठको उपस्थिति रहेको थियो।

सुझावित समाचार