बागमतीमा विपत् प्रभावित सडक सञ्चालन गर्न प्रतिकार्य टोली गठन

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडकमा विपतका वेला हुन सक्ने अवरोध र क्षति न्यूनीकरणका लागि द्रुत प्रतिकार्य टोली (क्युआरटी) गठन गरेको छ।

बुधबार मन्त्रालयमा एक कार्यक्रमबीच मन्त्री अमनकुमार मास्केले क्युआरटीलाई आवश्यक सामग्रीसहित जिम्मेवारीसमेत प्रदान गरेका छन्।

जिम्मेवारी प्रदान गर्दै मन्त्री मास्केले टोलीलाई विपतबाट प्रभावित सडक शीघ्र सञ्चालन तथा क्षति न्यूनीकरणका लागि सहजीकरण गर्नुका साथै प्राकृतिक विपत्तिबाट प्रादेशिक सडकमा हुने गरेको आपतकालीन अवरोधका वेला न्यूनतम सूचना प्रवाह र आवश्यक समन्वय गर्न निर्देशन दिए।

मास्केका अनुसार टोलीले अवरुद्ध भएका प्रादेशिक सडकहरूको पहिचान गर्ने, वैकल्पिक मार्गको पहिचान गर्ने, सूचना सम्प्रेषण गर्नेजस्ता कार्य गर्नेछ। यस्तै, आकस्मिक रूपमा अवरुद्ध सडकहरू यथाशीघ्र सञ्चालन गर्न अन्तरनिकाय समन्वय गर्नेजस्ता कामसमेत टोलीले गर्ने उनले जानकारी दिए।

मन्त्रालयका सचिव अमृत श्रेष्ठका अनुसार द्रुत प्रतिकार्य टोलीको संयोजकको जिम्मेवारी यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका निर्देशक पुष्करप्रसाद पोखरेललाई दिइएको छ। यस्तै, टोलीमा मन्त्रालयका महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी, मन्त्रालयका विपत् फोकल पर्सन ज्यानेन्द्रप्रसाद पुन, यातायात पूर्वाधार निर्देशनालयका अधिकृत हरिप्रसाद ओझा र सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालयका प्रमुख रहने व्यवस्था गरिएको छ।

कार्यक्रममा मन्त्री मास्केले प्रदेश लोकमार्ग र मार्गहरूमा सक्रिय मनसुनजन्य तथा अन्य प्राकृतिक विपतका कारणबाट आपतकालीन आवागमनसमेत अवरुद्ध हुने गरेको र न्यूनतम सूचना प्रवाह तथा समन्वयको अभावमा वैकल्पिक पहुँचमार्गको पहिचान र प्रयोग साथै द्रुत सूचना उपलब्ध गराउन नसक्दा आममानिसले सास्ती खेप्नु परेकाले यस्ता समस्या निराकरणका लागि टोली बनाइएको जानकारी दिए।

उक्त अवसरमा मन्त्री मास्केले टोलीका संयोजक र सदस्यहरूलाई टोली निर्माण गर्नुको आवश्यकता र औचित्यलाई पुष्टि गर्ने गरी काम गर्न निर्देशन पनि दिए।

बागमती प्रदेशको भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले हालै प्रादेशिक सडक गुरुयोजना निर्माण गरी प्रदेशमा २० वटा प्रादेशिक लोकमार्ग र २३० वटा प्रादेशिक सडक पहिचान गरी सोहीअनुसार व्यवस्थापनसमेत सुरु गरेको छ।

सुझावित समाचार