प्रायजसो साइकल दुर्घटनाबाट मानिस मृत्युका घटना बिरलै हुन्छन् । तर, कञ्चनपुरमा एक साताको अवधिमा साइकलबाट लडेर तीनजनाले ज्यान गुमाएका छन् । ९ साउनमा पुनर्वास नगरपालिका– ४ कार्गिलडाँडामा ५० वर्षीय झरसिंह ठकुरीको मृत्यु भयो । साइकलबाट लडेर बेहोस भएका ठकुरीको घटनास्थलमै मृत्यु भएको थियो ।
ठकुरीको साइकलबाट लडेर मृत्यु भएको घटना सेलाउन नपाउँदै शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनीमा अर्का पुरुषको मृत्यु भएको छ । १३ साउनमा गर्जमुनीका ४० वर्षीय खडक साउदको पनि साइकलबाट लडेर मृत्यु भएको छ । साइकलबाट लडेर घाइते भएका साउदको थप उपचारका लागि भारतीय अस्पताल लैजाने क्रममा १४ साउनमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठकुरी र साउदको साइकलबाट लडेर मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि साइकलयात्री भीमदत्त नगरकी एक महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत भीमदत्त नगरपालिका– ४ भाँसी क्षेत्रमा पूर्वबाट आएको म.१त १०१७ नम्बरको ट्याक्टरले भीमदत्त नगरपालिका– ६ सुकासालकी ३५ वर्षीया साइकलयात्री पार्वती भट्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीका अनुसार ट्याक्टरले ठक्कर दिँदा घाइते साइकलयात्री भट्टको उपचारका लागि महाकाली अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । चालक समीरकुमार सिंह र ट्याक्टर नियन्त्रणमा छन्।