भन्सारका अनुसार राजस्व कम उठ्नुका कारण
- आर्थिक वर्ष ०७९/८० को तुलनामा आव ०८०/८१ को राजस्व लक्ष्य ६०.७६ प्रतिशत बढी रहनु
- पेट्रोलियम गाडीको सट्टा न्यून महसुलको विद्युतीय गाडीको आयात बढ्नु
- राजस्वमा योगदान दिने प्रमुख २० वस्तुको आयात घट्दा नौ अर्ब तीन करोड घट्नु
- शून्य दर महसुलका वस्तुको आयात बढ्नु
- कुल ७९ अर्ब ८७ करोडको राजस्व छुट
- चोरी–पैठारी नियन्त्रणमा कठिनाइ हुनु
- मागमा कमी आउँदा आयात घट्नु
राजस्वमा योगदान पुर्याउने प्रमुख २० वस्तुको आयात घटेकाले राजस्व संकलनमा कमी आएको छ । राजस्वको वार्षिक समीक्षा प्रतिवेदनमार्फत भन्सार विभागले लक्ष्यअनुसार राजस्व नउठ्नुमा आठ कारण पनि औँल्याएको छ । आर्थिक वर्ष ०८०/८१ मा विभागले ६ खर्ब २७ अर्ब ७५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्यको ६७.५८ प्रतिशत अर्थात् चार खर्ब २४ अर्ब २४ करोड मात्रै संकलन भएको छ ।
महत्वाकांक्षी लक्ष्य
भन्सार विभागले राजस्व लक्ष्य नै महत्वाकांक्षी हुँदा कम संकलन भएको उल्लेख गरेको छ । आर्थिक वर्ष ०७९/८० को तुलनामा ०८०/८१ का लागि सरकारले तय गरेको लक्ष्य ६०.७६ प्रतिशत बढी छ । आव ०७९/८० को राजस्व संकलन तीन खर्ब ९० अर्ब भएको थियो ।
विद्युतीय गाडीको आयात बढ्यो
राजस्वमा प्रमुख योगदान पुर्याउँदै आएको पेट्रोलियम सवारीसाधनको आयात घट्दा राजस्व संकलनमा असर पुगेको विभागका महानिर्देशक ढुण्डीराज निरौलाले बताए । न्यून महसुल दर भएका विद्युतीय सवारीसाधनको पैठारी बढ्दा राजस्व कम उठेको उनको भनाइ छ ।
आव ०७९/८० मा १४ अर्ब ८४ करोड मूल्यका कुल २३ हजार तीन सय ८८ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । ०८०/८१ मा ३५ अर्ब ६९ करोड मूल्यका ३५ हजार आठ सय ७१ वटा विद्युतीय गाडी आयात भए । आव ०७९/८० को भन्दा २० अर्ब ८५ करोड बढी मूल्यका १२ हजार चार सय ८३ वटा विद्युतीय सवारीसाधन बढी आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
शून्य दर महसुल भएका वस्तुको आयात बढ्यो
विभागका अनुसार आव ०७९/८० को तुलनामा आव ०८०/८१ मा शून्य दर भएका वस्तुको आयातमा वृद्धि भएको छ । आव ०८०/८१ मा १२ अर्ब चार करोडले बढी वस्तु आयात हुँदा लक्ष्यअनुसार राजस्व कम उठेको विभागले जनाएको छ । आव ०७९/८० मा ९८ अर्ब ४२ करोडको शून्य दर लाग्ने वस्तु आयात भएको थियो । आव ०८०/८१ मा एक खर्ब १० अर्ब ४६ करोड मूल्यबराबरको यस्तो वस्तु आयात भएको विभागले जानकारी दिएको छ ।
लक्ष्यको ६७.५८ प्रतिशत उठ्यो भन्सारको राजस्व
भन्सार विभागले आर्थिक वर्ष ०८०/८१ मा चार खर्ब २४ अर्ब २४ करोड राजस्व संकलन गरेको छ । यो लक्ष्यको ६७.५८ प्रतिशत हो । विभागले ६ खर्ब २७ अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । भन्सार महसुलतर्फ लक्ष्यको ६५.०६ प्रतिशत उठेको छ । दुई खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ महसुल उठाउने लक्ष्य लिएकोमा एक खर्ब ८९ अर्ब ९४ करोड रुपैयाँ उठेको छ ।
त्यस्तै, विभागले उठाउने मूल्यअभिवृद्धि करतर्फ एक खर्ब ८४ अर्ब ५५ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ६८.६९ प्रतिशत हो । जबकि विभागले दुई खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । अन्तःशुल्कतर्फ लक्ष्यको ७१.९६ प्रतिशत उठेको छ । ५१ अर्ब ६२ करोडको अन्तःशुल्क उठाउने लक्ष्य लिएकोमा ३७ अर्ब १४ करोड संकलन भएको छ । सडक मर्मत तथा सुधार दस्तुरतर्फ लक्ष्यको ७३.९३ प्रतिशत उठेको छ । सडक निर्माण तथा सम्भार दस्तुरबापत लक्ष्यको ९९.०४ प्रतिशत संकलन भएको छ ।
छुटमै गयो ७९ अर्ब ८७ करोड
सरकारले दिने कर छुट सुविधाले पनि कम राजस्व संकलन भएको विभागले औँल्याएको छ । आर्थिक ऐन र भन्सार ऐनका विभिन्न दफाअनुसार आव ०८०/८१ मा कुल ७९ अर्ब ८७ करोड राजस्व छुट भएको तथ्यांक छ । त्यस्तै, खुला सिमानाका कारण चोरी–पैठारी नियन्त्रणमा कठिनाइ भइरहेको विभागले जनाएको छ ।
हरित कर ४५ करोड उठ्यो
१५ जेठमा सरकारले बजेट पेस गरेयता ३१ असारसम्ममा हरित करबापत ४५ करोड राजस्व संकलन भएको विभागले जनाएको छ । त्यस्तै, भारतीय मालवाहक ढुवानीको अस्थायी पैठारी बापत पाँच करोड राजस्व संकलन भएको छ ।
आयात घटेका प्रमुख २० वस्तु
आव ०७९/८० को तुलनामा आव ०८०/८१ मा राजस्वमा योगदान दिने प्रमुख २० वस्तुको आयात घटेको छ । कुल आयात एक खर्ब ४४ अर्ब ३८ करोडले घटेको छ । जसबाट कुल नौ अर्ब तीन करोडले राजस्व कम संकलन भएको विभागको भनाइ छ । आव ०७९/८० मा यस्ता प्रमुख २० वस्तु पाँच खर्ब ७६ अर्ब ८१ करोडको आयात भएकोमा ०८०/८१ मा चार खर्ब ३२ अर्ब ४३ करोडबराबरको आयात भएको थियो । यस्ता वस्तुहरूको आयातबाट गत आवमा १७ अर्ब ५२ करोड कम राजस्व संकलन भएको छ । राजस्व घट्नेमा एमएस स्टिल सिट, भटमासको तेल कच्चा, एमए विलेट, टाइल, स्टिल वायर रड इन क्वायल र ८ एमएससम्म, कोइला, डबल क्याव पिकअप गाडी, चिनी, सुपारी, कच्चा पाम तेल, शुद्ध फलाम, मोटरसाइकल, फलामे तार डोरी, पोलिथिन दाना, एलपी ग्यास, चामल, ट्रान्सफर्मर, टेलिभिजन, मार्बल स्ल्याब र धान रहेको विभागले जनाएको छ । यस्ता वस्तुबाट आव ०७९/८० मा ७१ अर्ब ६२ करोड राजस्व संकलन भएकोमा ०८०/८१ मा ५४ अर्ब १० करोड मात्र राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।