पेरिस ओलम्पिक २०२४ : रेकर्ड सुधार गर्दै एलेक्जेन्डर बाहिरिए

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

पेरिस ला डिफेन्स एरिनामा नेपाली पौडीबाज एलेक्जेन्डरले सय मिटर फ्रिस्टायल ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा गरे सुधार

नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ मा मंगलबार बिहान सय मिटर पुरुष फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान राखेका छन् । पेरिस ला डिफेन्स एरिनामा एलेक्जेन्डरले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् । सन् २०२४ मै उनले कतारको दोहामा भएको विश्व एक्वेस्टिक च्याम्पियनसिपमा ५२.१७ को रेकर्ड बनाएका थिए । पेरिसमा एलेक्जेन्डरले तेस्रो हिटमा पहिलो लेनमा रहँदै प्रतिस्पर्धा गरेका थिए । उनी सहभागी आठ प्रतिस्पर्धीमध्ये हिटमा तेस्रो भएका छन् । 

समग्रमा उनी ५९औँ स्थानमा रहे । १० चरणको हिटमा ७९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । हिट चरणमा शीर्ष १६ स्थानमा रहेका पौडीबाजले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । पेरिस ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गरेका एलेक्जेन्डरले खुसी जनाएका छन् । ‘ओलम्पिकमा लगातार सहभागी हुन पाउनु नै खुसीको पक्ष हो । अझ त्यसमाथि आफ्नै नाममा रहेको रेकर्ड तोड्न पाउँदा अत्यधिक खुसी लागेको छ,’ मिक्स जोनमा नेपाली मिडियाकर्मीसँग उनले भने । 

सन् १९९६ मा अमेरिकाको एटलान्टा ओलम्पिक (२६औँ संस्करण) देखि मात्र नेपाली पौडीबाज सहभागी भएका हुन् । यो अवधिमा १४ पौडी खेलाडीले लगातार नेपालको चुनौती ओलम्पिकमा प्रस्तुत गरिसकेका छन् । हालसम्म पुरुष र महिलामा समान सात खेलाडीले भाग लिएका छन् । सन् २०१६ को ३१औँ संस्करणको रियो ओलम्पिकमा गौरिका सिंह सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । 

दोस्रो ओलम्पिक यात्रा 
अमेरिकामा प्रशिक्षण तथा अध्ययन गरिरहेका एलेक्जेन्डरको यो दोस्रो ओलम्पिक सहभागिता हो । सन् २०२० को टोकियो ओलम्पिक उनको पहिलो सहभागी थियो । नेपाली चर्चित पौडीबाज सोफियाका सहोदर भाइ एलेक्जेन्डर ५० मिटर फ्रिस्टायलका पनि कीर्तिमान खेलाडी हुन् । उनले यस विधामा २३.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेका छन् । २५ मिटर लम्बाइको पौडी पोखरीमा हुने प्रतिस्पर्धा सट कोर्समा उनकै नाममा चार राष्ट्रिय कीर्तिमान छन् । उनले ५० र सय मिटर फ्रिस्टायलसँगै ब्याकस्ट्रोकमा गरी चार–चार वटा राष्ट्रिय कीर्तिमान राखेका थिए । यी सवै रेकर्ड उनले सन् २०१९ मा काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा बनाएका थिए । 

टोकियो ओलम्पिकमा एलेक्जेन्डरले उद्घाटन समारोहको मार्च पास्टमा गौरिका सिंहसँगै राष्ट्रिय झन्डा बोकेका थिए । पौडीमा एलेक्जेन्डरसहित दुई ओलम्पिक खेल्ने तीन खेलाडी छन् । तीनजना पौडीबाजले लगातार ओलम्पिक खेलेका छन् । प्रसिद्धजंग शाहले २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिक खेलेका थिए । गौरिकाले २०१६ को रियो तथा २०२० को टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । नेपालबाट सर्वाधिक ओलम्पिक खेल्ने खेलाडी धावक वैकुण्ठ मानन्धर हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै १९७२ देखि १९८४ को अवधिमा चार ओलम्पिक लगातार खेलेका थिए ।

दक्षिण कोरियामा डेब्यु
एलेक्जेन्डरले अन्तर्राष्ट्रिय पौडीमा डेब्यु दक्षिण कोरियाकोे ग्वाङजुमा गरेका थिए । ग्वाङजुमा सन् २०१९ मा भएको विश्व पौडी च्याम्पियनसिपमा ‘डेब्यु’ गरेका उनले ५० र सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेका थिए । उनले अमेरिकामै पेरिस ओलम्पिकको तयारी गरेका हुन् । उनी सीधै अमेरिकाबाट पेरिस ओलम्पिकमा सहभागी हुन आएका हुन् । पेरिसबाटै न्युयोर्क जाने उनले जानकारी दिए । न्युयोर्कस्थित फोर्डम विश्वविद्यालयमा साइकोलोजी अध्ययन गरिरहेका २१ वर्षीय एलेक्जेन्डरले गत वर्ष चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदसँगै तीन विश्व च्याम्पियनसिप खेलेको अनुभव छ ।

सन्तोषी र प्रिन्सको खेल बाँकी
पेरिस ओलम्पिकमा एलेक्जेन्डरसहित ५ खेलाडीको यात्रामा पूर्णविराम लागिसकेको छ । पौडीकै डुबाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ, जुडोकी मनीता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका थिए । अब २ खेलाडीको प्रतिस्पर्धा बाँकी छ । ब्याडमिन्टनमा प्रिन्स दाहालले बुधबार आफ्नो समूह चरणको अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । एथलेटिक्सको महिला म्याराथन (४२.१९५ किलोमिटर) मा सन्तोषी श्रेष्ठले ११ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन् । सन्तोषीको स्पर्धा नै नेपालको अन्तिम प्रतिस्पर्धा हुनेछ । 

दोस्रो खेलमा पनि प्रिन्स पराजित 
नेपालका एक नम्बरका खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनअन्तर्गत समूह ‘पी’को दोस्रो खेलमा पनि पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट २ मा विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा हराए । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । प्रिन्स र गुयेनबीच पहिलो सेट १७ मिनेट र दोस्रो सेट १८ मिनेटसम्म चलेको थियो । 

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रो सेटमा चार अंक बटुलेका थिए । आफ्नो सर्भिसमा गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक जोडे । आयरल्यान्डका खेलाडीको यो लगातार दोस्रो ओलम्पिक यात्रा हो । यसअघि उनले टोकियो ओलम्पिक खेलेका थिए । विश्व वरीयतामा एक सय ७२औँ स्थानमा रहेका प्रिन्स पहिलो खेलमा विश्व वरीयताको दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए । समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औँ विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसँग भोलि प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।

प्रतिस्पर्धापछि एलेक्जेन्डर भन्छन्–
ओलम्पिक जस्तो प्रतियोगितामा राष्ट्रिय कीर्तिमान सुधार गर्न पाउँदा खुसी छु । यो मेरा लागि पनि राम्रो हो । अझ चाँडै जान चाहन्थेँ, तर यो पनि राम्रो हो । हामीले प्रशिक्षण गर्ने र ओलम्पिकको पौडी पोखरी फरक छ । यसले पनि अलि गाह्रो भयो । यस वर्ष मैले नयाँ प्रशिक्षकबाट प्रशिक्षण गरेको हुँ । उहाँले ओलम्पिक तयारीमा धेरै सहयोग गर्नुभयो । ओलम्पिकपछि अब मेरो नजर १४औँ दक्षिण एसियाली खेलकुद र एसियन इन्डोर गेम्सलगायत हुनेछ । त्यस प्रतियोगितामा राम्रो नतिजा निकाल्न केन्द्रित हुनेछु । कलेजको अध्ययन अझ एक वर्ष बाँकी छ । यो अवधिमा म आफ्नो प्रदर्शनमा सुधार ल्याउने प्रयास गर्नेछु । 

सुझावित समाचार