उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वतखण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका– ५ स्थित बडागाउँ–कैया झोलुंगे पुलनजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले झन्डै ५० मिटर सडक पुरिएको छ । आइतबार बिहानदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो ।
निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विस्फाेटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहरो खसेपछि पर्वतखण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ। उक्त सडक हुँदै चल्ने सवारीसाधन मोदीवेणीबाट कुश्माबजार हुुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिए ।
भिरको ठूलो भूभागबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहावलाई कुनै असर नगरेको उनले जानकारी दिए। कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ। गत वर्ष ट्रयाक खुलेर सवारीसाधन वारपार हुन थाले पनि सडक स्तरोन्नतिको काम भने पूरा हुन सकेको छैन ।
कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए ।उनका अनुसार केही दिनमै सडक खुलाउने तयारी छ । पहिरोका कारण बडागाउँ–कैया झोलुंगे पुल जोखिममा परेको छ ।