विश्वकप खेलेका होन्डाले चर्च ब्वाइजविरुद्ध खेल्ने

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

जापानका चर्चित खेलाडी होन्डालाई अनुबन्ध गरेको भुटानको पारो क्लबले एएफसी च्यालेन्ज कपको प्ले अफमा नेपालको लिग विजेता चर्च ब्वाइजविरुद्ध २९ साउनमा दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छ

एएफसी च्यालेन्ज लिगको प्ले–अफ खेल्न जापानका चर्चित स्ट्राइकर केसुके होन्डा नेपाल आउने भएका छन् । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो एफसीबीच दशरथ रंगशालामा २९ साउनमा खेल हुँदै छ । प्ले–अफ खेलक लागि भुटानको पारोले विश्वकप खेलिसकेका होन्डालाई अनुबन्ध गरेको हो । पारोले आफ्नो अफिसियल फेसबुक पेजमा होन्डालाई अनुबन्ध गरेको जनाएको छ । 

सन् २००८ देखि २०१८ सम्म होन्डाले जापानको राष्ट्रिय फुटबल टोलीमा आबद्ध थिए । उनले इटलीको चर्चित क्लब एसी मिलान, रसियन क्लब सिएसकेए मस्कोजस्ता क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । जापानबाट ९८ अन्तर्राष्ट्रिय खेलमा उनले ३७ गोल गरेका छन् । राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि उनले कम्बोडियाको राष्ट्रिय टोली र यू–२३ को प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । 

भुटानी क्लबले जापानिज खेलाडीको आगमनले एसियन फुटबलको उच्चस्तरमा प्रतिस्पर्धा गर्नका लागि क्लबलाई सहयोग पुग्ने विश्वास लिएको छ । पारोले विलियम ओपोकु, जापानको कोकी नारितालाई पनि क्लबमा अनुबन्ध गरेको छ । पारोले एक दर्जन विदेशी खेलाडी अनुबन्ध गरेको छ । गत सिजन नेपाल सुपर लिगमा एफसी चितवनबाट खेलेका डिफेन्डर मार्को इभानोभिच र वीरगन्ज युनाइटेडबाट खेलेका मिडफिल्डर विलियम ओपोकु पनि पारोमा छन् । भुटानका राष्ट्रिय टोलीका खेलाडीसमेत रहेको टोलीको प्रशिक्षकमा पुष्पलाल शर्मा छन् । 

प्ले–अफ जित्ने टोलीले एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएफसी क्लब प्रतियोगिता संरचनाको परिमार्जित भागको रूपमा प्रतियोगिताको घोषणा गरेको थियो । प्रतियोगिताको समूह चरणमा १८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पिटर र करिम चर्च ब्वाइजमा 
चर्च ब्वाइज युनाइटेडले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । क्लबले सामाजिक सञ्जालमार्फत रक्षक ओमोलाजा नुरेन करिम र मिडफिल्डर पिटरलाई अनुबन्ध गरेको जानकारी दिएको हो । नाइजेरियाका करिमले मच्छिन्द्र क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए । उनीसँग बुटबल लुम्बिनी र ललितपुर सिटीबाट नेपाल सुपर लिग खेलेको अनुभव छ । च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइजले आफ्नो तयारी सुरु गरेको छ । 

चर्च ब्वाइजले दुई साताअघि देखि तयारी सुरु गरिसकेको हो । चर्च ब्वाइजले पारोविरुद्ध उत्कृष्ट नतिजा निकाल्न घरेलु फुटबलका नाम चलेका खेलाडीलाई अनुबन्ध गरी प्रशिक्षण सुरु भएको जनाएको छ । चर्च ब्वाइजको कप्तानी अनन्त तामाङले गर्नेछन् । राष्ट्रिय टोलीका लागि संयुक्त रूपमा सर्वाधिक १३ गोल गरेका अञ्जन विष्ट पनि यसै क्लबमा छन् । 

एरिक विष्ट, आयुष घलान, लकेन लिम्बू, सनिश श्रेष्ठ, दीप कार्कीलगायत खेलाडी पनि चर्च ब्वाइजमा अनुबन्धित भएका छन् । चर्च ब्वाइजले प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ । यसअघि महर्जनकै प्रशिक्षणमा चर्च ब्वाइजले ए डिभिजन लिगको उपाधि जितेको थियो । गत सिजन पहिलो चरणको छनोटमा नेपालको मच्छिन्द्र क्लबले पारो एफसीलाई नै दशरथ रंगशालामा हराएको थियो । मच्छिन्द्र प्ले–अफको दोस्रो खेलमा भारतीय टोली मोहुन बगानसँग पराजित भएको थियो । 

See More On

सुझावित समाचार