विद्यालयस्तरीय जुनियर बक्सिङ : चन्दनले रोहितलाई निराश पारे

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरीय छात्र तथा छात्रा बक्सिङअन्तर्गत जुनियर ४६ केजी तौल समूहमा बाँकेका चन्दन शाहीले स्वर्णपदक जितेका छन् । सोमबार रोमाञ्चक तथा प्रतिस्पर्धात्मक स्वर्ण भिडन्तमा चन्दनले बाँकेका रोहित जनलालाई ३–२ ले निराश पारेका हुन् । छात्रतर्फको ४८ केजी तौलमा अल्फा बक्सिङ क्लब दाङका कमल गुरुङले दाङकै लोकेश पुनलाई ४–० को आधारमा हराउँदै पहिलो स्थान रक्षा गरेका छन् । ५० केजी तौल समूहको फाइनलमा फाइट क्लब काठमाडौंका सेवाङ दोर्जे तामाङले ललितपुरका स्वभाव थापालाई ५–० को एकपक्षीय अन्तरले हराए । 

प्रतियोगिताको ५२ केजी तौल समूहमा भूमि बक्सिङ क्लब चितवनका सरोज तामाङले एच २ ओका प्रज्वल खत्रीलाई अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा ३–२ अंकको आधारमा हराउँदै स्वर्ण जिते । ५४ केजी तौल समूहमा झापा जिल्ला बक्सिङ संघका अनभास बुढाथोकीले तुलसीराम बुढाथोकीबाट वाकओभरका आधारमा जित निकाले । 

प्रतिस्पर्धाको ५७ केजी तौल समूहमा अछामका विनोद नगर्जीले फाइनलमा भाइब क्लबका मिसन गुरुङलाई ५–० ले हराए । ६० केजी तौल समूहमा बक्समान्डौका सेरप गेलचेन शेर्पाले सिजिजी बक्सिङका सिजन घलेलाई तेस्रो राउन्डमा आरएससीका आधारमा पाखा लगाए । ६३ केजी तौल समूहमा युनिक राईले सिजिजीका निकेश गुरुङ भट्टराईलाई ४–० अंकले हराए । 

६६ केजीमा खड्का पहिलो
६६ केजी तौल समूहमा मागी बक्सिङ क्लबका नवीनतम खड्का पहिलो भएका छन् । उनले स्वर्ण भिडन्तमा उदयपुरका रोजन मगरलाई आरएससीको आधारमा पराजित गरे । ७० केजी तौल समूहमा सुनसरीका उत्सव तामाङले सिजीका आयुष तामाङलाई ५–० ले निराश पारेका छन् । यसैगरी, ७० केजीभन्दा माथिको तौल समूहमा सिजिजीका रिजोन रुम्बाले दमकका ग्याल्वु आङदेम्बेलाई ५–० अंकका आधारमा पराजित गरी स्वर्ण पदक जितेका छन् । नेपाल बक्सिङ संघको आयोजनामा भएको प्रतियोगिताका विजयी खेलाडीलाई महासंघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरेका छन् । 

See More On

सुझावित समाचार