जेल सजाय काटिरहेका बमजनसँग व्यक्ति बेपत्ता मुद्दामा धरौटी माग

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण
जेल सजाय काटिरहेका बमजनसँग व्यक्ति बेपत्ता मुद्दामा धरौटी माग

फाइल तस्बिर/नयाँ पत्रिका

बाल यौन दुरुपयोग मुद्दामा १० वर्ष जेल सजाय काटिरहेको रामबहादुर बमजनसँग व्यक्ति बेपत्ता मद्दामा तीन लाख रुपैयाँ धरौटी माग भएको छ । 

बमजन कारागारमै रहेका वेला जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीश भगवती शर्माको इजलासले व्यक्ति बेपत्ता मुद्दामा सोमबार तीन लाख धरौटी माग गरेको हो । बमजनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको बाढेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोगमा मुद्दा छ । 

बमजनले धरौटी बुझाएका छैनन् । जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएको जानकारीअनुसार बमजनविरुद्ध सिन्धुपाल्चोकमा मानव बेचबिखन मुद्दा पनि छन् । चार दिनदेखि सिन्धुपाल्चोक कारागारमा रहेका बमजनलाई मानव बेचबिखन मुद्दामा बयान लिने क्रमजारी रहेको एसपी खड्काले जानकारी दिए । 

२६ पुस ०८० देखि महोत्तरी जिल्ला कारागार जलेश्वरमा रहेका उनीविरुद्ध जिल्ला अदालत सर्लाहीले १० असारमा दोषी ठहर गर्दै १७ असारमा सजाय निर्धारण गरेको थियो । पछिल्लोपटक सिन्धुपाल्चोकमा परेको मुद्दामा अनुसन्धानका लागि उनलाई जलेश्वरबाट सिन्धुपाल्चोकको चौतारा कारागार ल्याइएको थियो । बमजनमाथि यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएकाले उनी कैद सजाय पूरा नगरी छुट्नेछैनन् । 

बमजनविरुद्ध अनुयायीको हत्या, बेपत्ता तथा यौनहिंसाको पनि उजुरी 
‘लिटिल बुद्ध’को उपनामसमेत पाएका बमजनमाथि आश्रममा बस्ने अन्य अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको उजुरी पनि छ । पीडित पाँच परिवारले उनीविरुद्ध उजुरी दिएका छन्  । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा विभिन्न प्रहरी कार्यालयले बमजनविरुद्ध उजुरी दर्ता गरेका छन् । 

सुझावित समाचार