सहमतिपछि जानकी आँखा अस्पतालको सेवा सुचारु

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

एक सातादेखि बन्द रहेको जानकी आँखा अस्पतालको उपचार आइतबारदेखि सुचारु भएको छ । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगुवाइमा आन्दोलनरत पक्ष र अस्पताल व्यवस्थापन समितिबीच सहमतिपछि अस्पतालको सेवा सुरु भएको हो ।

विभिन्न ६ सूत्रीय माग राख्दै जानकी आँखा अस्पताल संघर्ष समितिले प्रशासन कक्षमा तालाबन्दी गरी अस्पताल परिसरमै धर्ना दिँदै आएको थियो । अस्पताल व्यवस्थापन समितिले मेडिकल डाइरेक्टरसहित केही कर्मचारीमाथि कुटपिट भएको भन्दै अस्पतालको सेवा नै ठप्प गरेका थिए । अस्पताल बन्दका कारण बिरामी मर्कामा परेपछि स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए । 

छलफलमा तत्काल अस्पतालको बन्द रहेको सेवा सुचारु गर्ने, आन्दोलनरत पक्षले प्रशासनिक कक्षमा लगाएको ताला खोलिने, कामबाट हटाएका चिकित्सकलाई यथावत् राख्ने तथा अस्पतालमा भएका अनियमितताको छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिने सहमिति भएको मन्त्री सिंहले जानकारी दिए । करिब ४० वर्ष पुरानो आँखा अस्पतालमा नेपालका मात्र नभई भारतका विभिन्न राज्यबाट बिरामीहरू उपचारका आउने गरेका छन् । 

सुझावित समाचार