अमेरिकामा अन्तर्राष्ट्रिय वैदिक सम्मेलन, संहिताशास्त्री बास्तोला सहभागी हुने

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

अमेरिकाको फ्लोरिडास्थित ओरल्यान्डाेमा आयोजना हुने अन्तर्राष्ट्रिय वैदिक सम्मेलनमा ख्यातिप्राप्त संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला सहभागी हुने भएका छन् । अमेरिकामा रहेका वर्ल्ड एसाेसिएसन फर वैदिक स्टडिज र वाइडर एसाेसिएसन फर वैदिक स्टडिजले सेप्टेम्बर १३ देखि १५ सम्म आयोजना गर्ने सम्मेलनमा बास्तोला आमन्त्रित भएका छन्।

विश्व हिन्दु महासंघका पूर्वउपाध्यक्षसमेत रहेका बास्तोला भारतवर्षकै ख्यातिप्राप्त संहिताशास्त्री हुन् । उनी पशुपति क्षेत्र विकास कोषका पूर्वबोर्डसदस्य पनि हुन् । नेपाल, भारत र अमेरिकामा आयोजना भएका सम्मेलनहरूमा संहिताशास्त्री बास्तोलाले सम्बोधन गर्दै आएका छन्।

बास्तोला वर्ल्ड रिलिजियस पार्लियामेन्टका विश्व शान्तिदूत, नवलपरासीस्थित पशुपति साङ्वेद विद्यालयका प्रमुख सल्लाहकार, ब्राह्मण अन्तर्राष्ट्रिय संगठनका संरक्षक हुन् । उनी  हालै भारतमा श्रीराम राज्य संकल्पना ट्रस्ट अयोध्याधाम तथा राष्ट्रिय हिन्दु वाहिनी संगठनको मुख्य संरक्षक मनोनीत भएका छन् ।

‘वैदिक परम्परामा द्वन्द्व र विवादको रोकथाम, व्यवस्थापन र समाधानका विषयमा सम्मेलनको एउटा सत्रलाई मैले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ,’ संहिताशास्त्री बास्तोलाले नयाँ पत्रिकासँग भने, ‘यो सेमिनारमा विश्वभरबाट वैदिक वाङमयका विद्वान् र विश्वव्यापी रूपमा विभिन्न ख्यातिप्राप्त संस्थाका प्रतिनिधिहरू पनि सहभागी हुने जानकारी मलाई गराइएको छ ।’

सम्मेलनमा प्राचीन विज्ञान, संस्कृति, आयुर्वेद, मन्दिर र साहित्य, योगा, ध्यान, दर्शन र चेतनालगायतका विषयमा विभिन्न सत्रहरू रहनेछन् । हिन्दु युनिभर्सिटी अफ अमेरिकाको सेमिनार हलमा सेमिनार हुनेछ ।
 

सुझावित समाचार