श्रीलंकाले पहिलोपटक एसिसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दाम्बुला मैदानमा श्रीलंकाले सर्वाधिक विजेता भारतलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको हो । पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा श्रीलंकाले १८.४ ओभरमा दुई विकेट गुमाएर १६७ रन बनायो । श्रीलंकाले आठ बल बाँकी रहँदै च्याम्पियन ट्रफी उचाल्यो ।
भारतलाई स्तब्ध पार्न श्रीलंकाका काभिस दिलाहरी र हर्सिथा समाराविक्रामले तेस्रो विकेटका लागि विस्फोटक ब्याटिङ गरेका थिए । दुवैले ४० बलमा ७३ रनको साझेदारी गर्दा साबिक विजेतासमेत रहेको भारत उपाधि विमुख भयो । श्रीलंका इनिङ्ससको ११.६ ओभरमा ९२–२ को अवस्थामा थियो । त्यसपछि हर्सिथा र काभिसाले प्रतिओभर १०.९५ रनरेटमा ब्याटिङ गरे ।
काभिसाले १६ बलमा एक चौका र दुई छक्का प्रहार गरी ३० रन बनाइन् । हर्सिथाले ५१ बलमा ६ चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ६९ रन जोड्नि । एसिया कपमा भारत दोस्रोपटक फाइनलमा पराजित भएको हो । सन् २०१८ को संस्करणमा भारत बंगलादेशसँग पराजित भयो ।
चमारी म्यान अफ दी सिरिज
उपाधि विजेता श्रीलंकाका चमारी अटापटु प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेकी छिन् । उनले सर्वाधिक ११८ अंक प्राप्त गरेकी थिइन् । उनले ३०४ रन जोड्नुका साथै तीन विकेट हात पारिन् । उनले पाँच खेलमा एक शतक तथा दुई अर्धशतकीय इनिङ्स खेलेकी थिइन् । भारतकी साफैल बर्माले व्यक्तिगत सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थान रक्षा गरिन् । उनले पाँच खेलमा एक अर्धशतकको सहयोगमा दुई सय रन बनाइन् । फाइनलमा हर्सिथा उत्कृष्ट खेलाडी भइन् ।
प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर भारतीय दीप्ति शर्मा हुन् । उनले पाँच खेलमा १० विकेट हात पारिन् । उनको उत्कृष्ट प्रदर्शन ३–१३ हो । श्रीलंकाका दिलहारी धेरै विकेट लिने सूचीको दोस्रो स्थानमा रहिन् । उनले पाँच खेलमा नौ विकेट हात पारिन् ।
भारतको बलियो योगफल
फाइनलमा पहिलो ब्याटिङ गरेको भारतले सुरुवात र मध्य इनिङ्समा उत्कृष्ट प्रदर्शन गरेको थियो । सैफाली बर्मा र स्मृति मान्धराले पहिलो विकेटका लागि ६.२ ओभरमा ४४ रनको साझेदारी गरेका थिए । सैफालीले १९ बलमा १६ रन बनाइन् । त्ससपछि भारतले लगातार दुई विकेट सस्तैमा गुमायो ।
स्मृतिले जेमिनाह रोड्रिग्वेज र रिचा घोषसँग गतिलो साझेदारी गरेकी थिइन् । जेमिनाहले १६ बलमा तीन चौका र एक छक्का प्रहार गरी २९ रनको योगदान गरिन् । ऋचाले १४ बलको सामना गरी चार चौक र एक छक्काको सहयोगमा ३० रन जोडिन् । इनिङ्सको १६.५ ओभरमा आउट भएकी स्मृतिले ६७ बलमा १० चौकाको सहयोगमा ६० रनको योगदान दिइन् ।