नदीकटानले सशस्त्र प्रहरीको बिओपी विस्थापित

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण
नदीकटानले सशस्त्र प्रहरीको बिओपी विस्थापित

मोहना नदी कटानले जोखिममा परेको सशस्त्र प्रहरीको बिओपी ।

धनगढी उपमहानगरपालिका–१९, लल्लितपुरमा सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट (बिओपी) नदीकटानले विस्थापित भएको छ । मोहना नदीमा आएको बाढीले कटान गर्दा पोस्ट नै जोखिममा परेपछि २४ असारमा पोस्ट विस्थापित भएको हो । त्यहाँ कार्यरत सुरक्षाकर्मी अहिले पोस्टभन्दा करिब पाँच किलोमिटर उत्तरपश्चिममा रहेको सामुदायिक भवनमा बसिरहेका छन् ।

मोहना नदीको कटानले बिओपीको गेट, सुरक्षाकर्मीले पहरा दिने दुईवटा पोस्ट र दुई कल्भर्ट बगाएको छ । असार तेस्रो साता आएको अविरल वर्षासँगै बाढीको सतह बढेपछि मोहना नदीले तीव्र रूपमा कटान गरिरहेको छ । नदीकटानले भवनसमेत बग्ने अवस्थामा छ । पोस्टको आँगनमै नदी पुगेपछि विस्थापित हुनुपरेको लल्लितपुरको बिओपी इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराईले बताए ।

‘बिओपीका केही संरचना नदीले बगाइसक्यो, बाढी आए जुनसुकै वेला भवनसमेत बग्ने जोखिम भएपछि छोडेर यता आएका हौँ,’ उनले भने, ‘कटान गरेर नदी करिब ६० मिटर उत्तरतिर बग्न थालेको छ ।’ विस्थापित सशस्त्र प्रहरीलाई सामुदायिक भवनमा बस्न तथा नियमित गस्ती गर्न समस्या भएको छ ।

१८ जना सशस्त्र प्रहरी कार्यरत रहेको लल्लितपुर बिओपीलाई सीमास्तम्भ नम्बर ७३४/६ देखि ७३८ सम्मको सात किलोमिटर सीमा क्षेत्र र वडा नम्बर १९ कार्यक्षेत्र तोकिएको छ । उनीहरू अहिले एउटा कोठा र तीनवटा हल रहेको सामुदायिक भवनमा बसिरहेका छन् ।‘चार/पाँच किलोमिटर पर भएकाले गस्ती गर्न केही गाह्रो भएको छ, उता आफ्नै संरचना हुँदा बस्न पनि सजिलो थियो,’ इन्चार्ज भट्टराईले भने, ‘नदीकटानले करोडौँको संरचना बग्ने अवस्थामा छ ।’ बिओपीमा दुईवटा भवन, शौचालय, पोस्ट, तारबारसहित करिब दुई करोडका संरचना रहेको बताइएको छ ।    

मोहना नदीकटानले बिओपीनजिक खेत, सिसौका दर्जनौँ रुख र बाटोसमेत बगाएको स्थानीयले बताएका छन् ।बिओपीसँगै जोडिएको स्थानीय ज्ञानु चौधरीको करिब पाँच कट्ठा जमिन नदीले बगाएको छ । नदीले खेत बगाउन थालेपछि स्थानीय कुहिरा चौधरी चिन्तित छन् । ‘पहिला नदी निकै पर थियो, अहिले मेरो खेत कटान सुरु गरेको छ,’ उनले भने, ‘यसै बर्खामा खेत बगाउला भन्ने डर छ ।’ 

मोहना नदीपारि भारतीय बस्ती छ । पहिला गाउँमा मोटर, गाईवस्तुलगायत चोरीका घटनाले स्थानीय आजित र त्रसित थिए । स्थानीयका अनुसार नदीपारिबाट आउने भारतीय समूहले गोठबाट गाईवस्तुसमेत चोरेर लग्थे । सशस्त्र प्रहरीको बिओपी स्थापना भएपछि भने चोरीका घटना नियन्त्रण हुनुका साथै स्थानीयले सुरक्षाको महसुस गरेका थिए ।

बिओपी विस्थापित भएपछि सीमावर्ती गाउँमा असुरक्षा महसुस गरेका छन् । ‘सीमामा सशस्त्र प्रहरी बसेपछि नियमित गस्ती भइरहन्थ्यो, गाउँको सुरक्षा भएको थियो,’ स्थानीय केआई कामीले भने, ‘सीमाको बस्ती हो, प्रहरी गएपछि राति पारिबाट चोर आउलान् भन्ने डर छ ।’ बिओपी स्थापना भएपछि चोरीका घटना पूर्ण रूपमा नियन्त्रण भएको उनले बताए । इन्चार्ज भट्टराईले भने विस्थापित भए पनि गाउँ र सीमा क्षेत्रमा नियमित गस्ती भई नै रहेको बताए । 

असार ०७७ देखि लल्लितपुर बिओपी सञ्चालनमा आएको हो । बिओपी स्थापनाका लागि स्थानीय सुर्मादेवी युवा क्लबले करिब एक बिघा जमिन उपलब्ध गराएको छ । वडाध्यक्ष बाँधुराम चौधरीले नदीकटान नियन्त्रणका लागि सरोकारवाला निकाय र व्यक्तिसँग आफूले पटक–पटक पहल गरे पनि सुनुवाइ नहुँदा जोखिम बेहोर्नुपरेको बताए । स्थानीयको श्रमदानबाट बोरामा बालुवा राखेर गरिएको नदीकटान नियन्त्रणको प्रयास सफल हुन नसकेको उनको भनाइ छ । नदीकटान नरोकिएकाले बिओपीको भवनसमेत यसै बर्खामा बग्ने अवस्था रहेको चौधरीले बताए ।

कैलालीमा भारतसँग जोडिएको एक सय एक किलोमिटर सीमा क्षेत्रको सुरक्षाका लागि १९ स्थानमा सशस्त्र प्रहरीका पोस्ट छन् । आधा दर्जन पोस्टमा बर्खायाममा डुबानको समस्या रहेको सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढीले जनाएको छ । गणका प्रमुख दलबहादुर पाण्डेयले गत असार तेस्रो साता आएको भीषण वर्षाका कारण पाँचवटा पोस्ट डुबानमा परेपछि केही दिन विस्थापित हुनुपरेको बताए । ‘कैलारी, भजनी र टीकापुर क्षेत्रका पोस्टहरूमा बर्खामा डुबानको समस्या छ,’ उनले भने  ।

सुझावित समाचार