अन्तःशुल्क छपाइमा भ्रष्टाचार गरेको मुद्दाका प्रतिवादी निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छन्।
विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार अर्यालसँग धरौटी माग गर्ने आदेश गरेको छ।
उनीसँग ५० हजार रुपैयाँ धरौटी माग गरिएको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। अर्यालसमेतले मदिरा र सुर्तीजन्य पदार्थमा प्रयोग हुने स्टिकर छपाइमा अनियमितता गरेको अभियोग छ।
२५ पैसामा छपाइ हुने स्टिकरका लागि ९० पैसा खर्च गरेको भेटिएपछि मुद्दा चलेको थियो। यस्ता ४३ करोड ३२ लाख थान स्टिकर छपाइमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ असारमा मुद्दा चलाएको थियो।