पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीका नेवार समुदायले पछिल्लो समय सांस्कृतिक गीत, नृत्य र बाजागाजा सिक्न थालेका छन्।
‘भाषा, कला र संस्कृतिको संरक्षण गरौँ, नेवाः एकतालाई सधैँ बचाइराखौँ’ भन्ने मूल नारासहित धिमेबाजा, बाँसुरी, नेवारी चर्या नृत्यको तीनहप्ते प्रशिक्षण कार्यक्रम शनिबार समापन गरिएको हो।
शनिबार खाँदबारीमा आयोजित समापन समारोहअघि नेवार समुदाय खाँदबारी बजारको विभिन्न भागहरूको परिक्रमासहित जिल्ला समन्वय समितिको सभा हलमा पुगेको थियो। सो समापन समारोहमा उनीहरूले तीन हप्तासम्म सिकेका सीप र कलाहरू प्रदर्शन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले संस्कृति र सीप पछिल्लो पुस्तासम्म हस्तान्तरण हुँदै जानुपर्नेमा जोड दिए। उनले कार्यक्रम प्रभावकारी भएकाले आगामी दिनहरूमा समेत निरन्तरता दिनुपर्ने बताए। सदरमुकाम खाँदबारी बजारमा नेवार समुदायको बाहुल्य छ।
आधुनिकतासँगै नेवार समुदायले आफ्नो सांस्कृतिक गीत, नृत्य, वेशभूषा, भाषाशैली र बाजागाजाहरू बिर्सँदै गएकाले युवा पुस्तालाई सिकाउन आवश्यकता ठानेर नेवारी बाजागाजा र नृत्यहरू सिकाइएको गायक तथा कलाकारसमेत रहेका खाँदबारीका जयन्द्र शाक्यले बताए। उनले नेवार समुदायले आफ्नो संस्कृतिको संरक्षण गर्न र पछिल्लो पुस्तासम्म विस्तार गर्नका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए।
नेवार समुदायको जातीय संस्था नेवाः मिसा दबु खाँदबारी नगरकार्यसमितिको आयोजनामा तीनहप्ते धिमेबाजा, नेवारी तथा चर्या नृत्यको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेवाः मिसा दबु खाँदबारी नगरकार्यसमितिका अध्यक्ष रसिला शाक्यले बताइन्। उनले नेवारहरूको जातीय संस्था ल्याम दबुका केन्द्रीय अध्यक्ष सुदनमान मुनिकारले गत असार २३ देखि साउन ११ गतेसम्म तीन हप्ता धिमेबाजा, नेवारी तथा चर्या नृत्यको प्रशिक्षण दिएको बताइन्।
तीनहप्ते प्रशिक्षणमा खाँदबारीका आठ युवक र ४७ महिला गरी ५५ जनाले सीप हासिल गरेका छन्। साना बालबालिकादेखि ४०–५० वर्षसम्म युवा र बयस्कहरूले समेत सीप सिकेका छन्। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नेवार समुदायका अगुवाहरू बताउँछन्। खाँदबारीका विपिन श्रेष्ठ र सुरेन शाक्यले दैनिक रूपमा बिहान–बेलुकी बाँसुरी सिकेको बताउँछन्। पूर्णज्ञान प्राप्त नभए पनि ७५ प्रतिशतभन्दा बढी सिकेको उनीहरूले बताए।
नेवारहरूको पुर्ख्यौली थलो काठमाडौंकाे नाकवहाल भए पनि व्यापार विस्तारका क्रममा देशभरका विभिन्न गौँडा र जिल्लाहरूमा बसाइँसराइ भएको यहाँका नेवार समुदायका अगुवाहरू बताउँछन्। खाँदबारीका नेवाः मिसा दबु नगरकार्यसमितिले गत वर्ष नेवारी फुड फेस्टिभल आयोजना गरेको थियो।