पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बाढीपहिरोका कारण डुम्रे–बेँसीसहर सडकको लमजुङ खण्ड र बेँसीसहर–चामे सडकको लमजुङखण्डमा सडक अवरुद्ध बनेको हो ।

बेँसीसहर नगरपालिका- ६, उत्तीसघारी खरखरेमा पहिरो जाँदा आइतबार बिहानैदेखि उत्तरी लमजुङतर्फको सडक अवरुद्ध बनेको छ । डुम्रेतर्फ बेँसीसहर नगरपालिका- १, उदीपुर बजार, अँधेरी खोला र नेपाली सेनाको गेटअगाडि दलाल क्षेत्रमा पहिरो खसेको छ । दलालमा यसअघिझैँ लेदो पहिरोले सडक अवरुद्ध बनाएको छ ।

यस्तै, अँधेरी खोलामा माथिबाट पहिरो आएर सडक अवरुद्ध बनाएको र उदीपुर बजारमै माथिबाट बाढीले ढुंगा, गिटी बगाउनुका साथै बाढीले सडक खोतलिदिँदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए । उनका अनुसार बाढीपहिरोलाई पन्छाएर सडक खुलाउने तयारी थालिएको छ।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौं, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।
 

See More On

सुझावित समाचार