हलोक्रान्तिको ७५ वर्ष पूरा

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

देशमा प्रजातन्त्र आउनुअघि ११ साउन ००६ सालमा लमजुङको साबिकको दुराडाँडा गाविस– ६ अर्चल्यानी हाल सुन्दरबजार नगरपालिका– ४ बाँटेगरामा बाहुनहरूले सामूहिक रूपमा हलो जोतेका थिए । दुराडाँडास्थित अर्चल्यानीको बाँटेगरामा ब्राह्मणहरूले पहिलोपटक हलो जोतेको ७५ वर्ष पूरा भएको छ । 

बर्सेनि लमजुङको दुराडाँडामा हलोक्रान्ति दिवस मनाइन्छ । यो घटना इतिहासमा हलोक्रान्तिको रूपमा अंकित छ । हलोक्रान्तिको रूपमा साउन ११ गते दुराडाँडामा बर्सेनि हलोत्कर्षक दिवस मनाउने गरिएको छ । हलोक्रान्तिलाई राष्ट्रिय दिवसको रूपमा मान्यता दिन र पहिलोपटक हलो जोतेर सामाजिक अभियान सुरु गर्ने अभियन्तालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने स्थानीयको माग छ । हलो जोतेको दुराडाँडाको अर्चल्यानीस्थित बाँटेगरामा एक रोपनी जग्गा तोयानाथको नाममा छ । उनकै नामबाट उद्यान पनि बनेको छ ।

हलोक्रान्तिलाई राष्ट्रियस्तरमा चिनाउन हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठान गठन गरी आफूहरूले काम गरिरहेको प्रतिष्ठानका अध्यक्ष डा. लक्षमीकान्त पौडेल बताउँछन् । हलो जोतेको दुराडाँडाको अर्चल्यानीस्थित बाँटेगरापरिसरमा दुई रोपनी जग्गा प्रतिष्ठानको नाममा छ । उनकै नामबाट उद्यान, भौतिक संरचना र ब्राह्मणले हलो जोतेको सालिक बनाउन संरचना तयार भएको छ । राज्यले प्रतिष्ठानलाई जिल्लामा मात्रै सीमित नराखी देशव्यापी बनाउन लाग्नुपर्ने र त्यसैका लागि प्रतिष्ठानले झकझक्याइरहेको उनले बताए । 

ब्राह्मणले पहिलोपटक हलो जोतेको सम्झनामा एक दशकयता हरेक वर्ष साउन ११ गते दुराडाँडाको अर्चल्यानीको बाँटेगरामा औपचारिक कार्यक्रम हुँदै आएको छ । बाँटेगराको संरक्षण, संवर्द्धन र यसको प्रचारप्रसार गर्न हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठान गठन गरिएको छ ।

राणा सरकारको तानशााही संस्कारसँगै मौलाएको ब्राह्मणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जनाले पहिलोपटक हलो जोतेका थिए । 

पहिलोपटक दुराडाँडामा हलो जोतेपछि ००८ सालसम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्न सुरु भएको थियो । राणाशासनको विरोधमा हलो जोतेको भन्दै तत्कालीन सरकारले सामूहिक हलो जोत्नेहरूलाई ११ साउन ००७ सालमा पक्राउ गरी जेलसमेत हालेको थियो । साथै, हलो जोत्नेहरूको विरोध नजोत्ने ब्राह्मणहरूले नै गर्न थाले ।

राणाकालमा ब्राह्मणको घरमा खेतीपातीका लागि दलित समुदायलाई हलो जोत्ने काममा राखिन्थ्यो । ‘हलो जोतेर परिवर्तनको सन्देश दिनुपर्छ’ भनेर लमजुङको दुराडाँडामा ब्राह्मणहरूले हलो जोतेका थिए । ‘दलितले छोएको अनौ समातेको’ भन्दै गाउँमा छीःछीः र दूरदूर गर्दै झ्याली पिट्दै उनीहरू ‘दलित’सरह भएको घोषणा गाउँलेले गरेका थिए । प्रत्यक्षदर्शी भीमबहादुर बस्याल भन्छन्, ‘त्यो समयमा हलो जोत्नेलाई घरनिकाला गरियो, भात खोसियो । माइत आएका छोरीचेली घर जान पाएनन्, घर गएका बुहारी माइत फिर्न पाएनन् । उमेर पुगेका युवायुवतीको बिहेसमेत दुई वर्षसम्म रोकियो ।’

सरकारविरोधी काम गरेको भन्दै तत्कालीन श्री ३ मोहनशमशेरको पालामा पण्डित तोयानाथ, शेषकान्त र श्रीकान्त अधिकारीलाई गिरफ्तार गरियो । उनीहरूलाई परेवाडाँडा, पुरानो सदरमुकाम कुन्छा, भोर्लेटार हुँदै एक दिन एक रात हिँडाएर पोखराको गोश्वारामा हाजिर गराइएको थियो । ‘गल्ती गरेको छैन, कानुन र वेदमा बाहुनले हलो जोत्न हुँदैन भन्ने उल्लेख भए जस्तोसुकै कारबाही भोग्न पनि तयार छौँ’ भनेर जेलभित्रै अनशन बसेपछि उनीहरूलाई ४८ घन्टापछि रिहा गरिएको थियाे

‘हलोक्रान्ति’मा सहभागी २७ ब्राह्मणको निधन भइसकेको छ । यसको नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीको ०२२ सालमा निधन भयो । सबैभन्दा कान्छा मायानाथ पौडेलको ०७३ जेठ २८ गते मृत्यु भयो । त्यसअघि ०७१ पुस ३० गते विष्णुप्रसाद अधिकारीको निधन भयो । 

तोयानाथका कान्छा छोरा शशिकान्त अधिकारीले पिताजीको कृषिक्रान्ति, सामाजिक क्रान्ति र शैक्षिक क्रान्तिको चाहना पूरा गर्ने बताए। उनले भने, ‘व्यावहारिक रूपमा अझै श्रमप्रतिको सम्मान र छुवाछुतको अन्त्य हुन सकेको छैन । त्यतिवेला सुरुवात मात्रै नभएको भए हामी कहाँ हुन्थ्यौँ, थाहा छैन ।’ 

ब्राह्मणहरूले हलो जोतेर थालेको क्रान्तिले ल्याएको सामाजिक जागरणले नै मुलुकमा ठूलै परिवर्तन गरे पनि त्यसका अभियन्ता र सामाजिक क्रान्तिको थालनी भएको लमजुङको दुराडाँडा भने अझै ओझेलमा परेको छ । आज हलोक्रान्तिको अवसरमा दुराडाँडाको बाँटेगरामा विचारगोष्ठी र अन्तर्क्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ । 
 

सुझावित समाचार