नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँचवर्षे कार्यकालको अन्तिम मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै छन् । बाह्य क्षेत्र बलियो देखिएको भए पनि आन्तरिक अर्थतन्त्र शिथिल नै रहेको र सत्तासमीकरण फेरबदल भएर भर्खरै नयाँ सरकार बनेको अहिलेको अवस्थामा ल्याउन लागेको मौद्रिक नीतिलाई विशेष चासोका रूपमा हेरिएको छ ।
आगामी चैतमा केन्द्रीय बैंकबाट बिदा हुने गभर्नर अधिकारीलाई उनको अन्तिम मौद्रिक नीतिका लागि चौतर्फी दबाब छ । सरकार र निजी क्षेत्रले खुकुलो नीति ल्याउनुपर्ने दबाब दिएका छन् । केन्द्रीय बैंकका उच्च तहका कर्मचारी एवं विज्ञहरूले सन्तुलित मौद्रिक नीतिमा जोड दिएका छन् । चालू आर्थिक वर्षको बजेटले सम्बोधन गर्न नसकेको विषय मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने आमअपेक्षा रहेका वेलामा नेपाल राष्ट्र बैंकमाथिकै परीक्षण हुने अर्थशास्त्री नरबहादुर थापाले बताए । उनले भने, ‘सेयर बजार र घरजग्गालाई चलायमान बनाउने र चालू पुँजी मार्गदर्शन खारेज गर्नुपर्ने माग सरोकारवालाको छ । अहिलेसम्म स्वायत्तता कायम राखेको केन्द्रीय बैंकले सरकार र निजी क्षेत्रको दबाब कसरी थेग्न सक्छ, यो परीक्षणको विषय हो ।’
वित्तीय स्थायित्वमा बढी केन्द्रित हुनुपर्ने केन्द्रीय बैंकलाई अर्थतन्त्र चलायमान बनाउनुपर्ने दबाबसमेत दिइएको छ । त्यसका लागि खासगरी सेयर बजार र घरजग्गा कारोबारालाई प्रोत्साहित गर्ने गरी मौद्रिक नीति ल्याउन गभर्नरलाई सरकारदेखि सरोकारवालासम्मको चर्को दबाब छ । तर, विज्ञहरूले भने घरजग्गा र सेयर बजार कारोबारमा अझ खुकुलो हुने सीमा नरहेको बताउँदै आएका छन् । उनीहरू तत्काललाई एउटा समूह खुसी बनाउने गरी नीति लिनुभन्दा अर्थतन्त्रको मध्यम र दीर्घकालीन वृद्धिमा ध्यान दिनुपर्ने बताउँछन् ।
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ । तर, अहिले मौद्रिक नीति तर्जुमा भईरहदा सेयर बजार र घरजग्गाको बढी चर्चा भईरहेको छ । खासगरि कृषि, उद्योग, पर्यटन, जलविद्युत् जस्ता उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन र प्रोत्साहन अहिलेको आवश्यकता हो । त्यसैले केन्द्रीय बैंकले भिडको दवाव भन्दा पनि समष्टिगत आर्थिक स्थायित्व र कर्जाको सदुपयोगमा ध्यान दिनुपर्ने देखिन्छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत हायर पर्चेज प्रकृतिको सवारी कर्जामा राख्नुपर्ने जोखिमभार १२५ प्रतिशतबाट घटाएर शतप्रतिशत कायम गरेको छ । घरजग्गा खरिद गर्ने कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याइएको छ । सेयर बजार क्षेत्रको चर्चित र विवादित ४/१२ नीतिलाई समेत संशोधन गरेर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडको सीमा कायम गरेको छ । केन्द्रीय बैंकले गाडी, घरजग्गा र सेयरका लागि हदैसम्मको खुकुलो नीति लिइसकेकाले थप खुकुलो हुने स्पेस नरहेको एक बैंकरले बताए।
‘देशको अर्थतन्त्रलाई वित्त नीतिले नभई मौद्रिक नीतिले चलाउन खोज्दा धेरै समस्या देखियो, खासगरी कोभिड काल र त्यसपछिका एक–दुई वर्षयता अर्थमन्त्रीहरूले पनि अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंक र मौद्रिक नीतितर्फ औँला तेर्स्याए अनि राष्ट्र बैंकले पनि अग्रभागमा देखिएको एउटा समूहलाई खुसी पार्ने गरी नीति ल्यायो,’ राष्ट्र बैंककै एक उच्च अधिकारीले भने, ‘राष्ट्र बैंकको तत्कालीन पपुलर नीतिले क्षणिक लाभ दियो, एउटा समूहलाई लाभ मिल्यो, अर्थतन्त्रमा पनि क्षणिक वृद्धि भयो, तर त्यसले दीर्घकालमा असर पार्यो, जसका कारण अर्थतन्त्रको बाह्य क्षेत्र चिन्ताजनक बन्यो, विदेशी मुद्रा सञ्चितिमा ठूलो ह्राससमेत आयो ।’ बाह्य क्षेत्रमा चाप देखिएपछि राष्ट्र बैंकले आफ्ना खुकुलो नीतिलाई क्रमशः कसिलो बनाउनुपर्नेमा एक्कासि ‘ब्याक गियर’ लिएर कसेपछि उद्योग–व्यवसाय समस्यामा परेको उनको बुझाइ छ । ‘त्यसैले अहिले पहिलेको जस्तै खुकुलो नीति लिने र पछि कसिलो हुनुभन्दा सन्तुलित नीति लिनु नै उपयुक्त हुन्छ,’ उनले भने ।
गत आर्थिक वर्ष ०८०/८१ को ११ महिनामा नेपालको चालू खाता दुई खर्ब ३९ करोडले बचतमा छ । शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा छ । विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब पुगेको छ, जसले साढे १२ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्छ । अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत देखिए पनि आन्तरिक अर्थतन्त्र भने शिथिल देखिन्छ । गत आव ०८०/८१ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर २.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । अर्थतन्त्रका चार क्षेत्रका वृद्धिदर ऋणात्मक देखिएका छन् । यस अवधिमा सबैभन्दा बढी ऋणात्मक वृद्धिदर निर्माण क्षेत्रको ११.२ प्रतिशत हुने कार्यालयको अनुमान छ । त्यस्तै, खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर ४.८ प्रतिशतले, उत्पादन क्षेत्रको वृद्धिदर २ प्रतिशतले र होलसेल तथा खुद्रा व्यापारको वृद्धिदर २.७ प्रतिशतले ऋणात्मक रहेको छ ।
सरकारले पुँजीगत खर्च बढाउन नसक्दा आन्तरिक अर्थतन्त्र शिथिल भएको अर्थविद् थापाको भनाइ छ । ‘यता आर्थिक गतिविधि भएन, जसका कारण आयात घट्यो, आयात घट्दा भुक्तानी सन्तुलन भयो, विदेशी मुद्रा जोगियो,’ उनले भने, ‘आयात ह्वात्तै बढ्यो भने फेरि बाह्य क्षेत्रमा दबाब बढ्न सक्छ, त्यसैले आन्तरिक उत्पादन बढ्ने किसिमको नीति लिनुपर्छ ।’
अहिले बैंकहरू अधिक तरलताको सामना गरिरहेका छन् । उनीहरूले कर्जा प्रवाहलाई प्रोत्साहन हुने नीति ल्याउनुपर्नेमा जोड दिइरहेका छन् । त्यस्तै, कर्जाको जोखिमभार (प्रोभिजनिङ)लाई समेत खुकुलो गरिनुपर्नेमा बैंकरहरूको समेत जोड छ । खासगरी असल कर्जाको जोखिमभारलाई १.२० प्रतिशतबाट ०.७५ देखि १ प्रतिशतसम्ममा झार्नुपर्ने माग छ ।
सरकारी दायित्वको भार बैंकलाई ?
सरकारले निर्माण व्यवसायीको ५० अर्बभन्दा बढी बक्यौता तिर्न सकेको छैन । ठेकेदारले आफूले काम सकेर भुक्तानी नपाउँदा बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा परेको बताउँदै आएका छन् । सरकारले भने निर्माण व्यवसायीको भुक्तानी तिर्नुको साटो ठेकेदारहरूको ऋणको पुनर्तालिकीकरण तथा पनुर्संरचना गराउन राष्ट्र बैंकलाई दबाब दिइरहेको छ । ‘सरकार आफ्नो दायित्वसमेत केन्द्रीय बैंकतर्फ सारिरहेको छ,’ एक बैंकरले भने ।
सरकारको दबाब झेल्ने कि दाहिना हुने ?
सरकारसँग नीतिगत मतभेद भएपछि रिजर्भ बैंक अफ इन्डियाका तत्कालीन गभर्नर रघुराम राजनले सन् २०१६ मा राजीनामा दिएका थिए । खासगरी नरेन्द्र मोदी सरकारले ब्याजदर घटाउन दिएको दबाबलगायत कारण उनले राजनीनामा दिएका थिए । विश्वविख्यात अर्थशास्त्रीसमेत रहेका राजनले सरकारको दाहिना हुनुभन्दा केन्द्रीय बैंकको स्वयत्तता रोजे ।
नेपालमा पनि केन्द्रीय बैंकको स्वयत्तताको सवाल वेला–वेलामा उठ्ने गरेको छ । खासगरी आफ्ना दलमा आस्था राख्नेलाई गभर्नर बनाउने र पछि राष्ट्र बैंकमाथि हस्तक्षेप गर्ने परिपाटी राजनीतिज्ञमा देखिन्छ । अधिकारीले गभर्नरमा नियुक्ति पाएकै दिन नयाँ पत्रिकासँग गरेको संक्षिप्त कुराकानीमा केन्द्रीय बैंकको स्वयत्ततामा चुनौती आउन नदिने बताएका थिए । तर, एम अधिकारीका रूपमा एमालेको सदस्यता नै लिएको अरोप लागेका गभर्नर अधिकारीले एमाले सरकारमा हुँदा र एमालेले अर्थ मन्त्रालय चलाएका वेला सरकारमैत्री नीति लिने गरेको आरोप लाग्दै आएको छ । यद्यपि, उनले त्यसलाई खण्डन गर्ने गरेका छन् । ‘अहिले एमाले नेतृत्वको सरकार छ र उसले सार्वजनिक रूपमै मौद्रिक नीति यस्तो ल्याउनुपर्ने भन्दै गभर्नरलाई प्रत्यक्ष दबाब दिइरहेको छ,’ केन्द्रीय बैंकका एक कार्यकारी निर्देशकले भने, ‘गभर्नरले यो दबाबलाई झेलेर समयानुकूल नीति ल्याउनुहुन्छ कि सरकारले भनेअनुसार खुकुलो नीति लिनुहुन्छ, त्यो उहाँ (गभर्नर)को विवेकमा भर पर्ने कुरा हो ।’
अधिकारीको कार्यकाल २३ चैत ०८१ मा सकिँदै छ । एमाले सत्तामा रहिरहेको अवस्थामा अधिकारीले गभर्नरमा दोहोरिने चाहना राखेका छन् । उनले सार्वजनिक स्थानमै अहिलेको मौद्रिक नीतिलाई आफ्नो अन्तिम नभनेर ‘यो कार्यकालको अन्तिम’ भन्न भन्दै ठट्टासमेत गर्ने गरेका छन् । यसर्थ, उनले एमालेले नेतृत्व गरेको वर्तमान सरकारलाई रिझाउने गरी मौद्रिक नीति ल्याउन सक्ने देखिन्छ । प्रधानमन्त्रीदेखि अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले समेत घरजग्गा र सेयर बजारलाई समेत गति दिने गरी खुलुलो मौद्रिक नीति ल्याउनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिँदै आएका छन् । तर, घरजग्गा र सेयर बजारका लागि अझै खुकुलो नीति लिने ‘स्पेस’ नरहेको जानकार बताउँछन् ।
पहिलो र अन्तिम मौद्रिक नीति
गभर्नर अधिकारीले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति विश्वव्यापी कोभिड महामारीको विषम परिस्थितिमा ल्याएका थिए । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन नसकेको आरोप लागिरहँदा गभर्नरले भने खुकुलो नीति लिएर उद्योगी–व्यवसायीलाई खुसी बनाए । उनले अर्थतन्त्र पुनरुत्थानका लागि भन्दै ब्याज छुट, पुनर्कर्जाको आकार वृद्धि, ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरणलगायत सुविधा ल्याए । उनले लिएको खुकुलो नीतिले कर्जा प्रवाहलाई प्रोत्साहन मिल्यो, सस्तोमा कर्जा लिएर घरजग्गा, सेयर र आयातमा लगानी गर्ने प्रवृत्ति बढ्यो । तर, उक्त नीतिले अर्थतन्त्रलाई भने असर पुर्याएको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालगायतले सार्वजनिक अभिव्यक्ति नै दिँदै आएका छन् । अर्थतन्त्रमा समस्या देखिन थालेपछि केन्द्रीय बैंकले कसिलो नीति लिन थाल्यो । त्यसैक्रममा ०७९ मा चालू पुँजी कर्जा मार्गनिर्देशन ल्यायो, जसले चालू कर्जालाई निरुत्साहित गर्यो । एक–डेढ वर्षअघि चाहिनेभन्दा बढी खुकुलो नीति लिने र हठात्मा कसिलो बनाइहाल्ने गरी केन्द्रीय बैंकले लिएको अस्थिर नीतिको प्रभाव अर्थतन्त्रमा देखिएको छ । अहिले पनि अर्थतन्त्रमा शिथिलता छ, यस्तो वेलामा गभर्नरले कस्तो नीति लेलान् ? सर्वत्र चासो देखिन्छ ।