बागमती प्रदेशमा कांग्रेसका नवनियुक्त चारजना मन्त्रीको लागि तयार गरिएको शपथ समारोह अन्तिम समयमा रोकिएको छ।
प्रदेश सरकारमा नेतृत्व गरिरहेको कांग्रेसले पूर्वसहमतिविपरीत मन्त्री थपेको भन्दै सत्तासाझेदार दल एमालेको विरोधका कारण शपथ कार्यक्रम रोकिएको हो।
मुख्यमन्त्रीसहित १३ मन्त्रालय रहेको बागमती प्रदेशमा सत्ता बाँडफाँट हुँदा कांग्रेसले मुख्यमन्त्रीसहित सात तथा एमालेले ६ मन्त्रालय लिने सहमति थियो। त्यसअनुसार कांग्रेसका मुख्यमन्त्री बहादुरसिंह लामाले पहिलै दिन आफ्ना तीन र एमालेका ६ मन्त्री नियुक्त गरेका थिए।
त्यसपछि कांग्रेसबाट थप तीन मन्त्री नियुक्त हुनुपर्नेमा बिहीबार चारजना मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी गरेका थिए। त्यसमा एमालेले विरोध गरेको हो।
यस्तै, कांग्रेसबाट बुधबार नै विनाविभागीयमन्त्री नियुक्त भएका मदुकुमार श्रेष्ठलाई आजै मन्त्रालयको जिम्मेवारी दिनुपर्ने अडान लिएपछि पनि शपथ कार्यक्रम रोकिएको एकजना मन्त्रीले जानकारी दिए ।
बिहीबार साँझ सवा ५ बजेलाई शपथ कार्यक्रम तय गरिएको भए पनि अन्तिममा कुरा नमिल्दा शपथ कार्यक्रम रोक्नुपरेको मुख्यमन्त्री बहादुरसिंह लामाले जानकारी दिए।