निर्मला हत्याकाण्डको ६ वर्ष बित्दा पनि हत्यारा पत्ता लागेन

पाँच गृहमन्त्री, पाँच आइजिपी, ८ डिआइजी र नौ एसपी परिर्वतन भए तर, उपलब्धी शून्य

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भएको छ । आजभन्दा ६ वर्षअघि १० साउन गते घरबाट साथी रोशनी बमको घरमा गृहकार्य गर्छु भन्दै हिँडेकी निर्मलाको भोलिपल्ट ११ साउन उखुबारीमा शव फेला परेको थियो । दुई हजार एक सय ९० दिन पूरा हुँदासमेत वास्तविक बलात्कारी हत्यारा अझै पहिचान भएको छैन ।

यसबीचमा पाँच गृहमन्त्री, पाँच आइजिपी, आठ डिआइजी र नौ एसपी परिवर्ता हुँदा पनि दोषीको अहिलेसम्म पहिचान भएको छैन । उतिवेला केन्द्रीय अनुसन्धान ब्युराेबाट आएका तत्कालीन डिएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरी प्रमुख तत्कालीन एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानले निर्मलाको हत्याकाण्डमा भीमदत्त नगरपालिका– १९ बागफाँटाका दिलीप विष्टलाई सार्वजनिक गरिएको थियो । दिलीप विष्ट हत्यारा हुनै सक्दैन भनेर अधिकारकर्मीसहित उतिवेला कांग्रेस नेता–कार्यकर्ताहरूले आन्दोलन चर्काएका थिए । निर्मलाको न्यायका लागि भन्दै होमिएको आन्दोलनमा सन्नी खुना बालकले ज्यान गुमाएका थिए भने दर्जनौँ स्थानीय घाइते भएका थिए । 

गृह मन्त्रालयको तथ्यांकअनुुसार यसबीचमा पाँच गृहमन्त्री परिवर्तन भए । निर्मला हत्याकाण्ड हुँदा गृहमन्त्री रामबहादुर थापा (बादल), त्यसपछि क्रमशः बालकृष्ण खाण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र अहिले गृहमन्त्री रमेश लेखक छन् । लेखककै गृहनगरकी निर्मला पन्तले न्याय पाउने स्थानीयले अपेक्षा राखेका छन् ।

निर्मला हत्याकाण्ड हुँदा उतिवेला नेपाल प्रहरीका प्रमुख (प्रहरी महानिरीक्षक) सर्वेन्द्र खनाल थिए, त्यसपछि ठाकुरप्रसाद ज्ञवाली, सैलेश थापा (क्षेत्री), धीरजप्रताप सिंह र हाल वसन्तबहादुर कुँवर रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्यांकअनुसार निर्मला हत्याकाण्ड हुँदा तत्कालीन सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरज केसी थिए । त्यसपछि क्रमशः डिआइजीहरू तारणीप्रसाद लम्साल, उत्तम सुवेदी, पुरुषोत्तम कँडेल, मोहनकुमार आचार्य, अशोक सिंह, निमित्त प्रदेश प्रमुख एसएसपी जनकराज पाण्डेय, निमित्त तथा प्रदेश प्रमुख भरतबहादुर बोहरा, हाल डिआइजी रवीन्द्र केसी रहेका छन् । 

निर्मला हत्याकाण्ड हुँदा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखमा तत्कालीन एसपी दिल्लीराज विष्ट, त्यसपछि क्रमश: तत्कालीन एसपीहरू कुवेर खडायत, दिनेश आचार्य, मुकुन्द मरासिनी, उमाप्रसाद चतुर्वेदी, श्यामसिंह चौधरी, कमल थापा र हाल जिल्लाका प्रहरी प्रमुख (एसपी) चक्रराज जोशीले कमान्ड सम्हालेका छन् । 

निर्मला हत्याकाण्डको अनुसन्धान जारी छ : कञ्चनपुर प्रहरी 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशीले निर्मलाको हत्याकाण्डको अनुसन्धान निरन्तर भइरहेको बताए । एसपी जोशीले हालसम्म ६५६ व्यक्तिमाथि अनुसन्धान भएको बताए  । ‘५९ जनासँग कागज गराएर अनुसन्धान गरेका छौँ,’ उनले भने, ‘एकजनामाथि हाल पनि गरिरहेका छौँ ।’ १६४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको एसपी जोशीले बताए । 

सुझावित समाचार