डेंगुका बिरामी बढेपछि संखुवासभा अस्पतालमा शय्या अभाव

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन्। असार अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको छ।

साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको संख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए। उनले भने, ‘शय्या नहुँदा अहिले बिरामीलाई भुइँमा राखेर उपचार गरिरहेका छौँ।’

जिल्ला अस्पतालमा ज्वरोका बिरामीको संख्या अत्यधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ।

अहिले अस्पतालमा आउने अधिकांश बिरामी ज्वरो, डेंगु र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताए। उनका अनुसार वैशाखयता स्क्रब टाइफसका १६० र डेंगुका २७ जना बिरामी भेटिएका छन्।

गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेंगु, पाँच सय २० जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्नेजस्ता लक्षण देखिने चिकित्सक बताउँछन्।

भाइरल ज्वरोले संखुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको संख्या वुद्धि हुँदै गएको छ। यो वर्ष जिल्लामा भाइरल ज्वरोको संक्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताए।

०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ। जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल संखुवासभा उपचारका लागि आउने गरेका छन्।

सुझावित समाचार