बंगलादेशमा आरक्षण आन्दोलनको असर : ४० मेगावाट विद्युत् निर्यात गर्न १३ साउनमा हुने सम्झौता स्थगित

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

बंगलादेशमा जारी आरक्षणसम्बन्धी आन्दोलनका कारण १३ साउनमा हुने भनिएको नेपाल–बंगलादेश विद्युत् बिक्री सम्झौता (पिएसए) स्थगित भएको छ । नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धमा १३ साउनमा काठमाडौंमा नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय सम्झौता गर्ने तयारी थियो ।  

साथै, १४ र १५ साउनमा पोखरामा हुने भनिएको द्विपक्षीय ऊर्जा बैठक पनि स्थगित गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए । ‘बंगलादेशमा जारी आन्दोलनका कारण यो स्थगित गर्नुपरेको हो । बंगलादेशले मंगलबार मात्रै उक्त मितिमा विद्युत् खरिद–बिक्री सम्झौता र द्विपक्षीय बैठक गर्न नसकिने भनेर पत्र पठाएको छ । त्यहाँको आन्दोलन साम्य भएपछि नयाँ मिति तोक्ने जानकारी बंगलादेशले गरेको छ,’ उनले भने, ‘अब हामीले भारतलाई पनि यो जानकारी गराउनेछौँ ।’ उनका अनुसार बंगलादेशको आन्दोलन साम्य भएपछि यो विषयमा नयाँ निर्णय गरिनेछ । 

१३ साउनमा काठमाडौंमा एक कार्यक्रम गरी नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)बीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको हो । यी तीनै संस्थासम्बन्धी देशका विद्युत् व्यापार गर्ने सरकारी कम्पनी हुन् । 

नेपालको ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइनमार्फत बंगलादेश पुर्याइनेछ । तसर्थ, भारतलाई समेत समावेश गरेर त्रिपक्षीय सम्झौता गर्न लागिएको थियो । हस्ताक्षर समारोहमा बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद आउने पक्का भएको थियो । यस्तै, भारतीय ऊर्जामन्त्री मनोहर लाललाई पनि हस्ताक्षर समारोहमा उपस्थित हुन निम्तो पठाइएको थियो । उनीहरूको उपस्थितिमा प्राधिकरण, बिपिडिबी र एनभिभिएनका कार्यकारी प्रमुखहरूले सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको थियो । तर, बंगलादेशमा जारी आन्दोलनका कारण त्यहाँका राज्यमन्त्री र बोर्डका अधिकारीहरू आउन सम्भव नभएको मन्त्रालयको भनाइ छ । 

१३ साउनमा काठमाडौंमा विद्युत् खरिद–बिक्री सम्झौता गरेर १४ र १५ साउनमा पोखरामा नेपाल–बंगलादेश ऊर्जा सहसचिव र सचिवस्तरीय बैठक गर्ने पक्का भएको थियो । तर, आन्दोलनकै कारण उक्त बैठक पनि स्थगित भएको प्रवक्ता सिंहले बताए । 

गत २४ असारमा बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् किन्ने सम्बन्धमा सम्झौता गर्न पत्र पठाएको थियो ।  त्यसपछि प्राधिकरणले बोलपत्र स्वीकृत गरेर बंगलादेशलाई जानकारी दिइसकेको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्झौता गर्न लागिएको थियो । तर, बंगलादेशको आन्दोलन साम्य भएपछि तत्काल सम्झौता हुने प्रवक्ता सिंहले बताए । ‘सबै तयारी पूरा भएको छ । बंगलादेशको अवस्था साम्य भएपछि यो सम्झौता भइहाल्छ । तसर्थ, यसमा आत्तिनुपर्दैन,’ उनले बताए । 

बंगलादेशले नेपालबाट पाँच वर्षसम्म बर्खाको समयमा ४० मेगावाट विद्युत् किन्न १६ पुस ०८० मा टेन्डर आह्वाान गरेको थियो । त्यसमा प्राधिकरणले बोलपत्रसम्बन्धी कागजात पेस गरेपछि यसको प्रक्रिया अघि बढेको थियो । पाँच वर्षसम्म हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत् बंगलादेश बिक्री गर्ने गरी सम्झौता हुँदै छ । बंगलादेशबाट डलरमा भुक्तानी पाउने गरी सम्झौता गरिनेछ । नेपालले विद्युत् निर्यात गर्दा प्रतियुनिट ६.४० सेन्ट प्राप्त गर्नेछ । यसमा प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पुर्याउनेछ । बंगलादेश निर्यात हुने विद्युत्को मिटर पनि मुजफ्फरपुरमा रहनेछ । त्यसकै आधारमा प्राधिकरणले भुक्तानी पाउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नेछ । 

मुजफ्फरपुरबाट उता बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) चार सय केभी प्रसारणलाइन हुँदै बंगलादेश विद्युत् पुर्याइनेछ । बंगलादेशमा सीमासम्म पुग्दा विद्युत्को लागत प्रतियुनिट करिब ७.६ सेन्ट पुग्नेछ ।

सुझावित समाचार