अमेरिकी कंग्रेसको तल्लो सदनकी पूर्वसभामुख न्यान्सी पेलोसीले कंग्रेसको संयुक्त बैठकमा हुने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सम्बोधन बहिष्कार गरेकी छिन् । नेतान्याहुले अमेरिकी समयअनुसार बुधबार दिउँसो २ बजे कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरे ।
पेलोसीअघि ३० भन्दा बढी डेमोक्रेटिक विधायिकाले पहिले नै नेतान्याहुको सम्बोधन बहिष्कार गर्ने घोषणा गरेका थिए । यसमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेट दुवैका सदस्य छन् । डेमोक्रेटिक विधायकका अतिरिक्त नेतान्याहुको विरोधमा क्यापिटल हिलमा विभिन्न अधिकारवादी समूहले विरोधको आह्वान गरेका थिए ।
आह्वानलाई मध्यनजर गर्दै नेतान्याहुको आगमनअघि प्रदर्शनकारीलाई अमेरिकी क्यापिटल भवन पुग्न रोक्ने गरी प्रहरीले ठूलो सुरक्षा अप्रेसन नै सञ्चालन गर्यो । वासिंगटनको डाउनटाउन क्षेत्रका सडक सवारीसाधनका लागि बन्द गरिएको थियो । ठूलो प्रदर्शनको अनुभव प्राप्त न्युयोर्क प्रहरी विभागका अधिकारी त्यहाँ परिचालन गरिएको जानकारी दिइएको थियो । संसद् भवन (क्यापिटल हिल)लाई पनि सुरक्षाकर्मीले घेरेका थिए ।