प्लास्टिकबाट हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्न सरकार, समुदाय र नागरिक समाजको सामूहिक प्रयास आवश्यक छ
काठमाडौं उपत्यकाले मात्र दैनिक रूपमा एक हजार २६२ टन फोहोर उत्पादन गर्छ, जसमध्ये १५ प्रतिशत खुला रूपमा फालिन्छ वा जलाइन्छ । करिब १८.५ प्रतिशत फोहोर कबाड केन्द्रमा रिसाइकल गर्न पठाइन्छ र ६३.५ प्रतिशत ल्यान्डफिल साइटमा फालिन्छ । हाल उपत्यकामा लगभग ७८ निजी फोहोरमैला संकलन कम्पनी सक्रिय छन् भने १८ नगरपालिका वातावरण र सरसफाइ एकाइ कार्यरत छन् ।
तर, काठमाडौं विश्वविद्यालयका प्रा. डा. सञ्जयनाथ खनाल र कुन्दन चौधरीले संयुक्त रूपमा गरेको अनुसन्धानले काठमाडौं उपत्यकाको फोहोर संकलन क्षमता ७२ प्रतिशत रहेको र उपत्यकाको नौ प्रतिशत फोहोर जलाउने गरेको पाइएको छ । यस अध्ययनले उपत्यकाका प्रत्येक १० बासिन्दामध्ये एकजनाले प्लास्टिकजन्य फोहोर जलाउने गरेको देखिन्छ । त्यसैले घर, सडकछेउमा र संकलन केन्द्रहरूमा समेत खुला रूपमा फोहोरमैला जलाउने समस्या यथावत् छ । अव्यवस्थित फोहोरमैला जथाभवी फाल्ने र फोहोरलाई जलाउने प्रवृत्ति अहिले झनै बढ्दै गएको छ । उत्पादन भएको फोहोरमैलालाई कम गराउन पनि फोहोरमैला जलाउँदै गरेको दृश्य त हामीमध्ये अधिकांशले प्रत्यक्ष रूपमा देख्दै आएकै छौँ । प्रत्यक्ष देख्दै आएको विषयलाई अस्वीकार गर्न सकिन्न । स्टेट अफ ग्लोबल एयरका अनुसार उपत्यका र विश्वव्यापी रूपमा सवारीसाधनबाट निस्कने धुवाँ वायु प्रदूषणको दोस्रो प्रमुख कारण हो । अमेरिकी पर्यावरण संरक्षण एजेन्सीका अनुसार प्लास्टिक जलाएर व्यवस्थापन गर्नु भनेको सबैभन्दा हानिकारक माध्यम हो, जसले गम्भीर स्वास्थ्य खतरा र वातावरणीय क्षति निम्त्याउँछ ।
वायु प्रदूषण विज्ञ डा. भूपेन्द्र दासले गरेको अनुसन्धानअनुरूप प्रत्येक वर्ष १०३ मेट्रिकटन हानिकारक सूक्ष्मकण र २२ हजार दुई सय २३ मेट्रिकटन कार्बन डाइअक्साइड श्वासप्रश्वासका माध्यमबाट काठमाडौं उपत्यकाभित्रका मानव शरीरमा प्रवेश गर्ने गरेको पुष्टि भएको थियो ।
काठमाडौंमा जलाइने फोहोरमध्ये अधिकांश प्लास्टिकजन्य फोहोर हुने गरेको छ । मल्टिलेयर प्लास्टिक, पेट प्लास्टिक बोटल÷स्टायरोफोम, जसले कार्सिनोजेनिक डाइअक्सिन, पर्सिस्टेन्ट अर्गानिक प्रदूषक र फुरान्स हावामा छोड्छ भने खरानीको फोहोर अवशेषका रूपमा रहिरहन्छन् । यसबाहेक, प्लास्टिक पाँच मिलिमिटर व्याससम्मको माइक्रो प्लास्टिकमा टुक्रिन्छ, जुन हावामा मिसिन्छ र श्वासप्रश्वासका माध्यमबाट मानव शरीरमा प्रवेश गर्न सक्छ ।
तसर्थ, त्यस्ता माइक्रो प्लास्टिकले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यसबाहेक, माइक्रो प्लास्टिक र त्यसबाट हुने प्रदूषणले तीव्र र दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग, हृदयरोग, एलर्जी र विशेषगरी बालबालिका र वृद्धवृद्धाजस्ता अति संवेदनशील वर्ग प्रत्यक्ष जोखिमको खतरामा रहेका हुन्छन् ।
सन् २०२० को अध्ययनले खुला फोहोरमैला जलाउँदा नेपालमा हानिकारक सूक्ष्म कणको मात्रा झन्डै ३० प्रतिशतले बढेको र प्रत्येक वर्ष हजारौँको संख्यामा ज्यान जाने गरेको पाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार एक सयजनाको मृत्यु हुने गरेको छ, जसमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिकार २७ प्रतिशत ७० वर्षभन्दा माथिका वृद्धवृद्धा हुने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन र नेपाल एम्बियन्ट एयर क्वालिटी मापदण्डअनुसार प्रतिघनमिटर ४० माइक्रोग्राम प्रति २४ घन्टा अनुमतियोग्य सीमा हो, तर काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रमा बसोवास गर्ने ८० प्रतिशतभन्दा बढी नेपालीले यो सीमाभन्दा बढी हानिकारक हावामा दिनहुँ सास फेर्छन् । सुक्खा फोहोर, प्लास्टिक र कागज हिउँदमा बिहान र रातिमा जलाएको देख्न सकिन्छ । जसले गर्दा हिउँदमा वायुको गुणस्तर हानिकारक हुँदा यसको असर मानब स्वास्थ र वातावरणमा पर्छ ।
सर्वोच्च अदालतले सन् २०१८ मा खुला फोहोरमैला जलाउन प्रतिबन्ध लगायो र उपत्यकाका सबै १८ वटा नगरपालिकालाई खुला फोहोरमैला जलाउन प्रतिबन्ध लागू गर्न परिपत्र जारी गरे पनि सो निर्णय कार्यान्वयन अल्पकालीन थियो । सन् २०२२ देखि काठमाडौं महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम धुवाँ, धुलो र अन्य ग्यास उत्पादन गर्नु आपत्तिजनक कार्य हो भनी आफ्नो वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम खुला फोहोर जलाउनेविरुद्ध कडा कारबाही गरिरहेको छ । जसअनुसार अभियुक्तलाई पाँच हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ, जसले गर्दा खुला फोहोरमैला जलाउने कार्यमा थोरै कमी आएको छ ।
प्लास्टिकबाट हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्न सरकार, समुदाय र नागरिक समाजको सामूहिक प्रयास आवश्यक छ । वायु प्रदूषणविरुद्ध नागरिकमा सचेतना फैलाउन विभिन्न संघसंस्थाले सचेतना अभियान सञ्चालन गरेका छन् । युएसएआइडी नेपालले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा माइतीघरमा ‘थ्रिडी’ कृत्रिम कपडाको फोक्सो स्थापना गरेको छ, जसले फोक्सोमा वायु प्रदूषणको प्रभावलाई प्रत्यक्ष रूपमा जोड्ने फोक्सोको सास फेर्ने मेकानिजमलाई प्रतिबिम्ब बनाएको छ । जहाँ मात्र दुई सातामा फोक्सो कालो भएको थियो, जसले मानव स्वास्थ्यमा वायु प्रदूषणको गम्भीर असर देखाउँछ । एक सचेत नागरिकको हैसियतमा हामीले प्लास्टिकमाथिको हाम्रो निर्भरता घटाउन र सबै जीवित प्राणी फस्टाउन सक्ने राम्रो वातावरणको संरक्षण गर्न आवश्यक छ ।
(शर्मा क्रिएसन नेपालकी अनुसन्धान सहायक हुन्)