जिल्ला प्रहरी कार्यालय महोत्तरीले गत आर्थिक वर्षमा आफ्ना ३२ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ। कार्यालय प्रमुखलाई गुमराहमा राखेको, आदेश निर्देशनबमोजिम काम नगरेको, पेस्तोल चेम्बर गर्ने वेलामा फायर भएको, भन्सार छलीका सामान नियन्त्रणमा लिई कार्यालयमा जानकारी नगराएको, सन्तोषजनक काम नगरेको, थुनुवाहरूलाई सुर्तीजन्य पदार्थ दिएको, प्रहरी पोसाकमा मादक पदार्थ सेवन गरेको, वादविवाद गरेको र आफूखुसी लाइन ब्यारेक छोडेर हिँडेकोलगायतका विभिन्न शीर्षकमा उनीहरूलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कारबाहीमा प्रहरी वरिष्ठ नायव निरीक्षक एकजना, प्रहरी नायब निरीक्षक एकजना, प्रहरी सहायक निरीक्षक चारजना, प्रहरी वरिष्ठ हवल्दार दुईजना, प्रहरी हवल्दार आठजना, प्रहरी सहायक हवल्दार आठजना, प्रहरी जवान सातजना र प्रहरी कार्यालय सहयोगी एकजना रहेका छन् । उनीहरूमध्ये आठजनालाई निलम्बन, ११ जनालाई नसिहत, तीनजनाको बढुवा रोक्का, सातजनालाई चेतावनी, दुईजनाको तलब वृद्धि रोक्का र एकजनालाई बर्खास्त गरिएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले कारबाही गरिएको जानकारी दिए । उनले प्रहरीलाई कारबाही मात्र नभई राम्रो गर्ने प्रहरीलाई पुरस्कृतसमेत गरिएको बताए । उनले ९२ जना प्रहरी गत आर्थिक वर्षमा पुरस्कृत गरिएको उल्लेख गरे ।