१३ सदस्यीय मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी
बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । कांग्रेस र एमालेका ६४ जना सांसदको समर्थनका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कांग्रेस–एमाले गठबन्धन बनेपछि एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।
नवनियुक्त मुख्यमन्त्री लामाले बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ लिने कार्यक्रम तय भएको कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री लामाले बुधबार नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषद्लाई एकै पटक पूर्णता दिने तयारी गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री लामा बागमती प्रदेशका पाँचौ मुख्यमन्त्री हुन् । यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य तथा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए । दोस्रो कार्यकालमा माओवादी का शालिकराम जम्कट्टेलले करिब १८ महिना मुख्यमन्त्री बनेका थिए ।
कांग्रेस र एमालेबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति
बागमतीमा कांग्रेस र एमालेबीच आलोपालो २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मंगलबार कांग्रेस र एमालेका नेताहरूबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक लम्सालले जानकारी दिए । ‘पहिलो खेप हाम्रो दलबाट मुख्यमन्त्री बन्नु भएको छ, दोस्रो खेपमा एमालेबाट मुख्यमन्त्री बन्ने सहमति छ,’ उनले भने ।
कांग्रेस र एमालेबीच मुख्यमन्त्रीबाहेक ६–६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमती छ । एमालेले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाए पनि कांग्रेसमा टुंगिन बाँकी छ ।
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने सहमति छ ।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्णप्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।