संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारी ऐन साढे दुई महिनाभित्र पारित गर्ने गरी काम गरिरहेको बताएका छन्।
विगत ८ वर्षदेखि विवादमा रहेको निजामती कर्मचारी ऐन अबको साढे दुई महिनाभित्र पारित गर्ने गरी काम भइरहेको मन्त्री गुप्ताको दाबी छ।
गत शनिबार मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका गुप्तालाई एमाले पर्साले पार्टी कार्यालयमा सम्मान गरेको थियो। सम्मान कार्यक्रममा बोल्दै गुप्ताले मन्त्रालयबाट हुने कर्मचारी सरुवालाई नियमावली बनाएर एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन बनाइने बताए।
‘अहिले मन्त्रालयमा दिनका दिन कर्मचारी सरुवाको समस्या रहेको भन्दै जिल्ला जिल्लाका कर्मचारीहरू मन्त्रालयमा आउने गरेका छन,’ उनले भने। अब यो समस्या रोक्नलाई कम्तीमा खटाइएको ठाउँमा एक वर्ष बस्ने गरी ऐन पारित गर्ने उनको भनाइ छ।
साथै, मन्त्री गुप्ताले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार लामो समयसम्म कायम रहने बताए। संघीय सांसदको दुई ठूला दल मिलेर बनेको यो सरकार ८४ सालसम्म टिक्ने उनको दाबी छ।