पर्यावरण संरक्षणका लागि सामुदायिक वन समन्वय समितिले कञ्चनपुरमा साताव्यापी वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । यस वर्ष सामुदायिक वन समन्वय समिति (सिएफसिसी)ले जिल्लामा साताव्यापी वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।
वन, पर्यावरण एवं वन्यजन्तु संरक्षणका लागि सिएफसिसीले जिल्लाका विभिन्न स्थामा वृक्षरोपण कार्यक्रम गरेको छ । १ साउनदेखि सुरु गरिएको वृक्षरोपण अभियान ७ साउनमा समापन गरिएको छ ।
विगतका वर्षहरूमा सिएफसिसीले विभिन्न प्रजातिका बिरुवा आफैँले उत्पादन गरेर वृक्षरोपण कार्यक्रम गरेको थियो । यस वर्ष पनि अभियानकै रूपमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको हो । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले यस वर्ष मात्रै विभिन्न प्रजातिका ३५ हजार बिरुवा लगाइएको बताए । अध्यक्ष जोशीका अनुसार जिल्लाका विभिन्न सामुदायिक वनहरूको खाली जमिन, खोला नदी, नालाको कटानी क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
वृक्षरोपण सप्ताहमा कञ्चनपुरका आठ सामुदायिक वनमा वृक्षरोपण अभियान सञ्चालन गरिएको बताउँदै अध्यक्ष जोशीले लालझाडी गाउँपालिकाको कञ्चन सामुदायिक वन, शुक्लाफाँटा नगरपालिकाको भगवती र झिलमिली सामुदायिक वन, कृष्णपुर नगरपालिकाको उग्रतारा, दीपेन्द्र स्मृति, ग्वासी समैजी, हरियाली र जनहित महाकाली सामुदायिक वनमा वृक्षरोपण गरिएको बताए । वृक्षरोपण सप्ताह अवधिभर रैथाने तथा विभिन्न प्रकारका बोटबिरुवा लगाइएको छ ।
सोमबार कृष्णपुर नगरपालिका- २ खल्लागोठ वाणीमा रहेको जनहित महाकाली सामुदायिक वनमा वृक्षरोपण गर्दै यस कार्यक्रमको समापन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अध्यक्ष अर्जुनसिंह साउदले वातावरण जोगाउन वृक्षरोपण गर्न अतिआवश्यक रहेको बताए।
अध्यक्ष साउदले सिएफसिसीले सामुदायिक वन क्षेत्रमा गरेको वृक्षरोपण कार्यक्रमले जैविक विविधतामा टेवा पुग्ने बताए । वनजंगल संरक्षण गरेपश्चात् नै पानीका मुहानहरूको पनि जगेर्ना हुने भएकाले वृक्षरोपण गर्नु अति आवश्यक रहेको अध्यक्ष साउदको भनाइ छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले सामुदायिक वन समन्वय समिति (सिएफसिसी)को वृक्षरोपण अभियानले जिल्लामा थप पर्यावरण संरक्षणमा टेवा पुग्ने बताए ।
सुदूरपश्चिम प्रदेश क्षेत्रीय वन निर्देशक हेमराज विष्टले सामुदायिक वन समन्वय समितिको वृक्षरोपण अभियानले पर्यावरण संरक्षणमा योगदान हुने पुग्ने बताए । क्षेत्रीय वन निर्देशक विष्टले वृक्षरोपण अभियान प्रदेशभरि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।