बर्खामा लामो यात्रा गर्दा...

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण
  • बर्खाको समय यात्रामा चुनौतीहरू आउन सक्छन् । यस समय बाढी–पहिरोले कुनै पनि वेला यात्रा बिथोल्न सक्छ । सडक अवरुद्ध भएर लामो समय बीचबाटोमै रोकिनुपर्ने हुन सक्छ । 
  • नेपालका सडकहरूको अवस्था पनि त्यति राम्रो छैन । पहाडमा बाढी र पहिरो दुवैको समस्या छ । तराईमा बाढीको जोखिम छ । तसर्थ, बर्खामा लामो यात्रा गर्नुअघि केही कुराको ख्याल गर्नुपर्छ । 
  • कुन रुट छनोट गर्ने भन्ने प्राथमिकतामा राख्नुपर्छ । त्यो सडकको अवस्था के छ भनेर पूर्वसूचना लिनु राम्रो हुन्छ । अन्यथा, अवरुद्ध सडकमा गएर लामो समय फस्न पनि सकिन्छ । 
  • ओभरलोड भएको सवारीसाधनमा चढ्नुहुँदैन । यसले दुर्घटना निम्त्याउन सक्छ । त्यस्ता गाडी देखिएमा ट्राफिकलाई तत्कालै खबर गर्नुपर्छ । 
  • सार्वजनिक यातायातमा यात्रा गर्दा चालकसँग गाडीको कन्डिसनबारे पनि बुझ्नु राम्रो हुन्छ । किनकि, हाम्रोमा पुराना गाडी पनि चलिरहेका हुन्छन् । हिलो सडकमा त्यस्ता गाडी फस्ने र दुर्घटना हुने जोखिम रहन्छ । 
  • चालकले ट्राफिक अनुशासन पालना गरे–नगरेको ध्यान दिनुपर्छ । यदि गरेको छैन भने सचेत गराउनुपर्छ । 
  • बर्खाको समयमा रातिको यात्रा सकभर नगर्नु राम्रो हुन्छ । रातको समय भिजिबिलिटी कम हुन्छ । पहिरो गएको वा सडक बिग्रेको राम्रोसँग देखिँदैन । त्यसैले सकभर दिउँसो यात्रा गर्नु राम्रो हुन्छ । 
  • सवारी आफैँ चलाउँदै हुनुहुन्छ भने आफ्नो सवारीको कन्डिसन चेकजाँच गरेर, राम्रोसँग मर्मत गरेर मात्र यात्रा थाल्नुपर्छ । सडकको अवस्थाबारे पनि पूर्ण जानकार हुनुपर्छ । 
  • मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउनुहुँदैन । पूर्ण रूपमा ट्राफिक नियम पालना गर्नुपर्छ । रातिको समयमा सकभर सवारी चलाउनु राम्रो मानिँदैन ।

सुझावित समाचार