युरोपको भविष्यका लागि आधारभूत सिद्धान्तका रूपमा मानवता र एकतालाई मान्नेले महतवपूर्ण चुनौती सामना गर्नुपर्ने भएको छ
जर्मन पुरातनपन्थी राजनीतिज्ञ उर्सुला भोन डेर लेयनले संसदीय समूहसँगको गहन वार्तापछि युरोपेली आयोगकी अध्यक्षका रूपमा दोस्रो कार्यकाल सुरक्षित बनाएकी छिन् । उनले चार सय एक गोप्य मत ल्याएर बहुमतका लागि आवश्यक तीन सय ६० मत सहजै पार गरेकी छिन् । यसअघि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्ने धेरै भए पनि उनी संसद्द्वारा दुईपटक चुनिएकी पहिलो अध्यक्ष हुन् । उनलाई दाबेदार बनाउने मध्यपन्थी गठबन्धनमा मध्यम–दक्षिणपन्थी युरोपेली पिपुल्स पार्टी (इपिपी), मध्यम–वाम सोसलिस्ट एन्ड डेमोक्य्राट्स (एसएन्डडी) र मध्यपन्थी उदारवादी रिन्यु सामेल थिए । यसबाहेक उर्सुलाको जित सुनिश्चित गर्न गठबन्धनले जुनको युरोपेली संसद्को चुनावमा महतवपूर्ण क्षति व्यहोरेको ग्रिन्सको समर्थन पनि लिएको थियो ।
गठबन्धनभित्रको केन्द्रीय एवं प्रभावशाली बहस उग्र–दक्षिणपन्थी दललाई अलग्गै राख्ने वा समाहित गर्ने भन्ने थियो । यी दलसँग संसद्को सबैभन्दा ठूलो समूह इपिपीभन्दा एक सांसद मात्रै कम छन् । अहिले उग्र–दक्षिणपन्थविरुद्धको ‘राजनीतिक असहयोग’मा तीनवटा उग्र–दक्षिणपन्थी समूहमध्ये दुईवटा समूह मात्र पर्छन् । यी दुई समूहमा प्याट्रोइट्स अफ युरोप, जसमा फ्रान्सको नेसनल र्याली, हंगेरीको फिडेज पर्छन् भने दोस्रो समूहमा इटलिज लिग पर्छ र यो समूह युरोस्केप्टिक विचार (इयूको अखण्डताविरुद्धको विचार) र भ्लादिमिर पुटिनपरस्त भनेर परिचित छन् । अल्टर्नेटिभ फर जर्मनीका चरमपन्थीको नेतृत्वमा उग्रराष्ट्रवादी पार्टीको गठबन्धन ‘युरोप अफ सोभरेन नेसन्स’लाई उर्सुलाको गठबन्धनमा समावेश गरिएको थिएन । यी समूहले उनको विपक्षमा मतदान गरेका थिए ।
एसएन्डडी, रिन्यु र द ग्रिन्सको स्पष्ट जनादेश नभए पनि इपिपीको समर्थनका साथ भोन डेर लेयनले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी नेतृत्वको ब्रदर्स अफ इटलीको मत सुरक्षित गर्न संसद्मा तेस्रो उग्र–दक्षिणपन्थी समूह युरोपेयिन कन्जर्भेटिभ्स एन्ड रिफर्मिस्ट (इसिआर) सँग वार्ता जारी राखेकी थिइन् । अन्ततः इसिआर सदस्यले आफ्नो ‘राष्ट्रिय हित’मा आधारित भएर मतदान गर्ने निर्णय गरेका थिए । मेलोनीको पार्टीले लेयनको विरोध गर्यो, तर लाटभियाबाट अर्का इसिआर सांसदलाई संसदीय उपाध्यक्ष पद भने सुरक्षित गरायो ।
लेयनको संसद्मा हालैको भाषणले युरोपेली प्रविधितन्त्रभित्रको दक्षिणपन्थतर्फको गहिरो परिवर्तनलाई जोड दिन्छ । उनको भाषणले ‘संस्कृति’ र ‘मान्यता’जस्ता दक्षिणपन्थी विषयवस्तुलाई जोड दिँदै युरोपलाई एक आदर्श संस्थाका रूपमा पोषित र चाहिने एकाइका रूपमा चित्रण गर्छ । यसलाई उनले ‘हाम्रो युरोपेली जीवन शैली’ भनेकी थिइन् । उनले युरोपलाई उग्र–दक्षिणपन्थीले प्रतीकात्मक रूपमा ‘राष्ट्र’लाई जनाउने ‘आवर होमल्यान्ड’ (हाम्रो गृहभूमि) को संज्ञा दिएकी थिइन् ।
लेयनको युरोपले निर्णायक कारबाहीको माग गर्दै धेरै खतराको सामना गरिरहेको छ । उनको मुख्य बहुपक्षीय उपलब्धिका रूपमा हेरिएको ग्रिन डिल (हरित सम्झौता) ले आर्थिक समृद्धि र प्रतिस्पर्धात्मकतालाई जोड दिन्छ । यसले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले झैँ आर्थिक राष्ट्रवादलाई प्रतिध्वनित गर्छ ।
डिलमा युरोपेली कम्पनी, किसान र कामदारका लागि हुने समृद्धिमा जोड दिइएको छ, जहाँ अन्य विश्वव्यापी खेलाडी विशेषतः हरित संक्रमण सामग्रीका लागि महतवपूर्ण दक्षिणी गोलार्धका देश उपेक्षित छन् । इपिपीद्वारा सञ्चालित यो प्रतिक्रियाले हालैको चुनावमा हरित नीतिप्रति व्यापक आशंकाको पुरातनपन्थी प्रतिक्रियालाई प्रतिबिम्बित गर्छ, अर्थात् युरोपेली हरित पहलमाथिको आक्रमण दक्षिणपन्थीका लागि नयाँ ‘सांस्कृतिक युद्ध’ हो । लेयनले बाह्य सुरक्षा खतराविरुद्ध युरोपको सुरक्षाको तर्क गरेकी थिइन् । उनले साझा युरोपेली रक्षा प्रणालीको वकालत गर्दै र तीव्र आलोचना भएको ‘फ्रन्टेक्स’लाई विस्तार गर्ने वाचा गरेर आप्रवासीविरोधी भावनालाई समर्थन गरेकी थिइन् । फ्रन्टेक्सको यो दृष्टिकोणले द्वन्द्व, प्रकोप र गरिबीबाट उम्केर युरोप प्रवेश गर्ने आप्रवासी र शरणार्थीका लागि जोखिम र मानव अधिकार उल्लंघनलाई प्रोत्साहन गर्ने भनिएको छ ।
लेयनले अफ्रिकाका लागि मेलोनीको माटेई योजनाजस्तै आप्रवासन रोक्न गैरयुरोपियन देशसँग रणनीतिक साझेदारीको निरीक्षण गर्न भूमध्य क्षेत्रका लागि नयाँ आयुक्तको घोषणा गरेकी छिन् । यो पहलले ट्युनिसियासँगको विवादास्पद सम्झौतालाई प्रतिबिम्बित गर्छ । सम्झौतालाई भोन डेर लेयन, मेलोनी र तत्कालीन डच प्रधानमन्त्री मार्क रुटेद्वारा ट्युनिसियाको संयुक्त भ्रमणबाट जोड दिइएको थियो । सम्झौताले आफ्नो समुद्री तटबाट आप्रवासीलाई युरोपमा प्रस्थान गर्न रोकेबापत ट्युनिसियालाई आर्थिक संकटको निवारण गर्न एक अर्ब डलरभन्दा बढीको सहयोग गर्ने वाचा गरेको छ । लेयनको भाष्यले बाह्य खतराको सामना गरेर लोकतन्त्रको रक्षालाई जोड दिन्छ, अर्थात् विदेशी सूचना हेरफेरविरुद्ध लड्न युरोपेली लोकतन्त्रलाई जोगाउनुपर्ने तर्कको प्रस्ताव गर्छ । वास्तविक सरोकार भए पनि यसलाई सम्बोधन गर्दा यसमा संकीर्णता बढी देखिन्छ । उनले सामाजिक अधिकार र संवादमा जोड दिँदै किफायती आवासका लागि संघर्ष गरिरहेका युरोपेली कामदारलाई सहायता गर्न आवास योजना प्रस्ताव गरेकी छिन् । यद्यपि उनको भाषणले यो प्रगतिशील पक्षलाई गौण बनाएको भने देखिन्छ ।
लेयन आप्रवासी र शरणार्थीविरुद्ध डर, घृणा र हिंसालाई प्रोत्साहन गर्दै सम्पत्ति एवं अधिकारमा युरोपको केन्द्रीयताको वकालत गर्छिन्, अर्थात् विश्वव्यापी सहयोग र सामाजिक न्यायमा प्राथमिकता दिइएको छैन । जुनको चुनावी नतिजाले उनको अडानलाई व्यापक समर्थन जनाउँछ । प्रगतिशील शक्ति असमानता, कल्याण र वातावरणीय मुद्दामा संलग्न हुँदा लेयनको आप्रवासनविरोधी नीतिप्रतिको विरोध भने शून्यप्रायः छ । युरोपको भविष्यका लागि आधारभूत सिद्धान्तका रूपमा मानवता र एकतालाई मान्नेले वर्तमान परिस्थितिमा महतवपूर्ण चुनौतीको सामना गर्नेछन् ।
(लाटेर्जा दक्षिणी नर्वेको याग्देर विश्वविद्यालयका विकास अध्ययनका सह–प्राध्यापक हुन्)
अल जजिराबाट