एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सही नीति र सिद्धान्तले मात्रै समाजमा जागरण पैदा गर्ने बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले कम्युनिस्टमा देश बनाउने सपना हुनुपर्ने उल्लेख गरे । ‘कम्युनिस्टमा देश बनाउने सपना हुनुपर्छ । देश बनाउने सपना छैन भने उसले केही पनि गर्न सक्दैन । सपना मात्र भएर पनि पुग्दैन । सपनालाई विपनामा रूपान्तरण गर्न सही नीति र सिद्धान्त अवलम्बन गर्नुपर्छ । सही नीति र सिद्धान्तले समाजमा जागरण पैदा गर्छ,’ पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंको कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनले भने ।
समयको सही पहिचान गर्दै नेपाली विशेषताको समाजवादी क्रान्तिको बाटोमा आफूहरू अगाडि बढेको नेपालले दाबी गरे । ‘समाजवादी क्रान्ति नेपाली विशेषताको हुनेछ, अरूको नक्कल हुनेछैन । जहाँ बहुदलीय प्रतिस्पर्धा हुनेछ । मदन भण्डारीले अगाडि सार्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को पनि हामी उच्च मूल्यांकन गर्छौँ । जबजलाई मार्गदर्शक सिद्धान्तको सीमामा सीमित राख्न खोज्ने, हिजो पनि अति मूल्यांकन गर्ने कामहरू भए । थुप्रै कुरालाई सच्याएर अगाडि बढ्न हामी अरूलाई पनि आह्वान गर्न चाहन्छौँ,’ उनले भने ।
नेपालको कम्युनिस्ट आन्दोलनमा एकसेएक योद्धा जन्मिएका पनि उनले बताए । ‘कम्युनिस्ट आन्दोलनमा पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, तुल्सीलाल अमात्यजस्ता एकसेएक योद्धा जन्मिएका छन् । कम्युनिस्ट आन्दोलन विभाजित भएपछि पनि नेताहरूले आ–आफ्नो हिसाबले कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका छन्,’ उनले भने ।
पुष्पलाललाई कहिल्यै पनि बिर्सन नसकिने नेपालले बताए । ‘पुष्पलालले ७ साउन ०३५ मा हामीलाई सधैँका निम्ति छाडेर गए पनि नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ । नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि उहाँले सुरु गरेको यात्रा विभिन्न किसिमले विस्तारित भइरहेको छ, यसले एकपछि अर्को उपलब्धि हासिल गर्दै गइरहेको छ । यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ,’ नेपालले भने ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनलाई एकत्रित गर्दै अगाडि बढ्नुपर्ने बताए । समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्दै पुष्पलालले देखेको सपना पूरा गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । ‘हामीले १०औँ महाधिवेशनबाट समाजवादी क्रान्तिको कार्यक्रम पारित गरेका छौँ । यो कम्युनिस्ट आन्दोलनमा कोसेढुंगा सावित हुनेछ । नेपाली विेशषताको समाजवादी कार्यक्रममा गोलबन्द हुँदैै अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने ।
वामपन्थी नेता वामदेव गौतमले पुष्पलालकै पालादेखि कम्युनिस्ट विभाजन सुरु भएको बताए । ‘नेपालमा पुष्पलालले कम्युनिस्ट आन्दोलनको जग हाल्नुभयो । माक्र्सवादी विचारलाई विकास गर्नुभयो । तर, उहाँको जीवनकालमै नेपालमा कम्युनिस्ट पार्टी विभाजन सुरु भयो, जो आजपर्यन्त जारी छ । हिजो पुष्पलालले पार्टीलाई एकताबद्ध गर्न सक्नुभएन । आज हामीले पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौँ,’ उनले भने ।