चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको ११औँ दिनसम्म पनि खोजीकार्य जारी छ । भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ)का १२ जनाको प्रविधिसहितको टोली र नेपालका सुरक्षाकर्मीले संयुक्त रूपमा खोजी जारी राखेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । तर, शव भेटिने आस भने घट्दै गएको छ ।
बसमा सवार आफ्ना सदस्य हप्तौँ बित्दा पनि नभेटिएपछि केही आफन्तले कुशको शव बनाएर दासंस्कार गरिरहेका छन् । चितवन प्रशासनले पनि धेरै दिन भएकाले शव भेट्न मुस्किल भएको र भेटिए पनि सनाखत गर्न कठिन भएको बताउँदै आएको छ । आठ वर्षअघि पृथ्वी राजमार्गको घोप्टेभिरबाट पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप पनि त्रिशूली नदीमा खसेको थियो । असोजको समयमा पानीको बहाव कम भएको सो समयमा पनि शव भेटिन धेरै समय लाग्यो । बंगलादेशबाट गोताखोरसमेत ल्याइएको थियो । अहिले त्रिशूली नदी बढेको छ भने पानीको बहाव उच्च र धमिलो पनि छ ।
सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा २८ असारमा खसेको बसमा ६५ यात्रु सवार रहेको र त्यसमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका थिए । अहिलेसम्म २५ जनाको शव फेला परेकोे छ । ३७ जनाको अवस्था अझै अज्ञात छ । भेटिएका २५ शवमध्ये तीनजना महिलासहित १९ जनाको मात्र सनाखत भएको छ । सनाखत भएकामध्ये पाँचजना भारतीय नागरिक हुन् ।