गागन खोलामा दुई वर्ष ढिलो गरी पुल निर्माण कार्य सकियाे

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत बलान–कमला खण्डको औरही र दरहिया गाउँको बीच हुँदै बग्ने गागन खोलामा पुल बनेपछि आवतजावत सहज भएको छ। सम्झौताभन्दा करिब दुई वर्ष ढिलो गरी निर्माण सम्पन्न भए पनि आवतजावतमा सहज भएको हो। 

हिराचन रोशन जेभीमार्फत रोशन कन्स्ट्रक्सनले ७ साउन २०७९ भित्र निर्माण सक्ने गरी १० मंसिर २०७६ मा ठेक्का सम्झौता गरेको पुल गत असारको पहिलो हप्ता निर्माण सम्पन्न भएको हो।

हुलाकी सडक हुँदै जिल्ला सदरमुकाम पुग्न सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर, नवराजपुर, बरियारपट्टी गाउँपालिकाका बासिन्दासहित औरही गाउँपालिकाको केन्द्र पुग्न औरहीको हरकट्टी, कुण्डलपुर, दरहियाका स्थानीयलाई पुल निर्माणले ठूलो राहत भएको दरहियाका रामकुमार यादवले बताए।

गागन खोलामा एक सय २५.९० मिटर लम्बाई, ११ मिटर चौडाई प्रिस्ट्रेस्ड आरसिसी पुल निर्माण सम्पन्न भई आवतजावत खुला गरिएको भए पनि पुलको रंगरोगन भने बाँकी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयअन्तर्गत पुलका साइट इन्जिनियर कौशलकिशोर यादवले जानकारी दिए। पुल निर्माण गर्न हिराचन रोशन कन्स्ट्रक्सनले भ्याटसहित १४ करोड ६५ लाख ४१ हजार पाँच सय ५० रुपैयाँ ३० पैसामा ठेक्का सम्झौता गरेको थियो।

पुल निर्माण ढिलो हुँदा बर्खामा स्थानीय बासिन्दा पैदल, साइकल र मोटरसाइकलमा जोखिमपूर्ण ढंगले गागन वारपार गर्न बाध्य थिए। हुलाकी सडकअन्तर्गत सिराहा खण्डमा पर्ने पूर्व बलानदेखि पश्चिम कमला नदीसम्मका प्रायः सबै ठाउँका नदी तथा खोलामा पुल, कल्भर्ट बनिसक्दासमेत गागनमा पुल निर्माण ढिलाइ हुँदै आएको थियो।

औरही गाउँको पूर्वपट्टिबाट बग्ने गागनमा करिब २० वर्षअघि पुल निर्माण गरिएको थियो। निर्माणको १० वर्षपछि बाढीले पुलदेखि करिब तीन सय ५० मिटर उत्तरतिर बाँध भत्काएर खोलाले धार परिवर्तन गरेको स्थानीयवासी बताउँछन्। बाँध भत्काएर खोला पुरानो पुलभन्दा दुई सय मिटर पूर्वबाट बग्न थालेपछि स्थानीय बासिन्दा खोलाको पानीमा हेलिएर आवतजावत गर्न बाध्य थिए।

सहजाको अवस्था उस्तै
हुलाकी सडकअन्तर्गत नै सिराहाको औरही र अर्नमा गाउँपालिका जोड्ने सहजा खोलाको पुल निर्माणमा ठेकेदार कम्पनीले आलटाल गर्दा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरिरहेको छ। गत असारको अन्तिम हप्ता आएको अविरल वर्षाले पुल निर्माणस्थलको दक्षिणपट्टि बनाइएको डाइभर्सन बगाएपछि हलुका चारपांग्रे सवारीसाधनसमेत चल्न नसकेको औरही ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले गुनासो गरे।

बाढीले बगाएको डाइभर्सन भएको ठाउँमा पछिल्लो तीन दिनदेखि तीनवटा नयाँ ह्युमपाइप हालेर मर्मत भइरहेको छ। हलुका सवारीसाधनसमेत आवतजावत नहुँदा सात किलोमिटरको दूरीमा रहेको सिराहा अस्पताल पुर्याउन बिरामीलाई औरही, बरियारपट्टी, जिरोमाइल, गोलबजार, चोहर्वा हुँदै ५५ किलोमिटरको दूरी घुम्न बाध्य भएको वडाध्यक्ष यादवको गुनासो छ। कुल २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको सहजाको आरसिसी पुल निर्माणको क्रममा दुईवटा पाइलको ढलानबाहेक अन्य काम अगाडि बढ्न सकेको छैन।

सुझावित समाचार